यसकारण रोकिए बिदेशी ८ सिनेमाको छायांकन

कला - संगीत

२१,पुष। सरकारले अनुमतिविना ड्रोन क्यामेरा उडाउन प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव सिनेमा पर्यटनमा परेको छ । नेपालमा ड्रोन उडाउने अनुमति लिन झन्झटिलो भएका कारण नेपालमा हुन लागेको ८ विदेशी सिनेमाको सुटिङ रद्द भएको छ ।सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सरकारले २३ वैशाख ०७२ मा अनुमतिविना ड्रोन उडाउनप्रतिबन्ध लगाएको थियो ।

नेपालमा सुटिङ गर्ने योजना बनाएका हलिउड, बलिउड तथा चिनियाँ सिनेमा उद्योगलगायतका निर्माताहरूले योजना रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् ।ठूलो पर्दाका सिनेमाका अतिरिक्त डकुमेन्ट्री, टेलिभिजन सिरियल, छोटो फिल्म र रियालिटी शोका लागि नेपालमा सुटिङ योजना बनाइरहेका फिल्मकर्मीले पनि ड्रोनको प्रयोग झन्झटिलो भएको भन्दै नेपालमा सुटिङ रद्द गरेको उनीहरूले बताएका छन् ।नेपालमा छायाकनको व्यवस्थापन गर्ने ४ एजेन्सीमार्फत आउन लागेका सिनेमा रद्द भएका हुन् ।

स्विडेन, बेलायत, अमेरिका, चीन, भारत र जर्मनीबाट नेपालमा सुटिङ योजना बनाएका फिल्मकर्मीले योजना रद्द गरेको व्यवसायीहरूले बताएका छन् । मेगा एडभेन्चर्स इन्टरनेसनल, धिमालजी सिने ट्रेक्स, बोन ट्राभल एन्ड टुर्स र आइसफ प्रोडक्सनमार्फत नेपाल आउन लागेका सिनेमाहरूको सुटिङ रद्दभएको व्यवसायीहरूले जानकारी दिए ।

१२ बैसाख०७२ मा नेपालमा भूकम्प आएपछि नेपालमा ड्रोन उठाउन पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको हो । भूकम्पलगत्तै नेपालीहरूले अत्यधिक मात्रामा ड्रोन ल्याएर तस्बिर तथा भिडियो खिच्न थालेपछि २३ वैशाखमा सरकारले त्यस्तो निर्णय गरेको थियो ।

Post Comment