धादिङ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले २०७४ माघ ७ गतेभित्रै तीनवटै निर्वाचन सम्पन्न हुने कुरामा शङ्का नगर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, धादिङ शाखाको संयोजनमा नेपाल पत्रकार महासङ्घ मध्यमाञ्चल क्षेत्रीय समितिले धादिङबेँसीमा आयोजना गरेको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री महराले त्यस्तो आग्रह गर्नुभएको हो ।
उद्घाटन मन्तव्यमा उपप्रधानमन्त्री महराले लोकतन्त्र प्राप्तिको आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि त्यस्तै भूमिका निर्वाह हुने अपेक्षा राखिएको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल र धर्मेन्द्र झालाई अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र महासङ्घको संस्थागत विकासका लागि पुर्याएको योगदानबापत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
त्यस्तै क्षेत्रीय समितिबाटै उत्कृष्ट शाखाका रुपमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखालाई र २० वर्षभन्दा माथि लामो समयसम्म पत्रकारिता गर्दै आएका सत्यप्रकाश श्रेष्ठ र कृष्णराज परियारलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धादिङ शाखाबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र आकुरावका केन्द्रीय अध्यक्षमा निर्वाचित हुन हुने धादिङ शाखामा आबद्ध रहेका पत्रकार सुभास खतिवडालाई पनि सम्मान गरियो ।