एमालेका सचिव योगेश भट्टराईले निर्वाचन नगर्ने हो भने यो प्रधानमन्त्री पुष्पकलम दाहाललाई कुर्सीमा बस्ने कुनै अधिकार नरहने टिप्पणी गरेका छन् ।
सचिव भट्टराईले भने, ‘यो सरकारले स्थानीय तहको चुनाव तोकिएको समयभित्र गर्नुपर्छ । तीब्र रुपमा तयारी गर्नुपर्छ । चुनाव नगर्ने हो भने पुष्पकमल दाहाललाई कुर्सीमा बसिरहने अधिकार हुँदैन ।’
मधेसी मोर्चाका गतिविधिप्रति आक्रमक देखिएका एमाले सचिव भट्टराईले भने, ‘मधेसी मोर्चाका झण्डा उचालेर सीके राउतदेखि जयकृष्ण गोइतसम्मले आफ्नो स्वार्थपूर्ति गरिरहेका छन् । यो कुरा मोर्चाका नेताहरूलाई पनि थाहा छ ।’ उनले मधेसी मोर्चाका नेताहरूलाई सहमतिमा आएर निर्वाचनमा भाग लिन सुझाव दिए ।
सीमाङ्कनको कुरा थाँती राखेर आउने हो भने संविधान संशोधनको विषयमा एमाले छलफल गर्न तयार रहेको उनले बताए । ‘संविधान संशोधनको पक्षमा भोट हाल्दैनौँ’, उनले भने, ‘सीमाङ्कनलाई नचलाएर अरु विषयमा छलफल गर्न दिन सक्छौँ ।’
हिन्दी भाषालाई सरकारी कामकाजी भाषा बनाउने मोर्चाको योजनालाई सफल हुन नदिने सचिव भट्टराईको भनाइ थियो । ‘संविधानले भोजपुरी, अवधी, थारुलगायतका भाषाहरूलाई मान्यता दिएका छ । मातृ भाषालाई कामकाजी भाषा बनाउन सकिन्छ’, उनले भने, ‘हिन्दी भाषालाई कुनै पनि हालतमा सरकारी कामकाजी भाषा बनाउन सकिँदैन ।’