कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीति गर्न थालेपछि महाअभियोग लगाउनुपरेको बताएका छन् । स्थानीय तहको उम्मेदवार छनोट गर्नका लागि केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकमा एक्कासी प्रस्ताव भएको महाअभियोगबारे कुरा उठ्दा सभापतिले यस्तो बताएका हुन् ।
उनले प्रधानन्यायाधीशभन्दा माथि उठेर राजनीतिक निर्णय गर्ने र गर्न खोज्ने भएपछि महाअभियोग लगानउनुपरेको बताए ।न्यायाधीश नियुक्तिमा आफूखुशी गरेको आरोपसमेत कार्कीमाथि लागेको छ । राजनीतिक मान्छे नियुक्ति गरेको आरोपसमेत कार्कीमाथि लागेको विषय देउवाले उठाएका थिए ।
उम्मेदवार टुंग्याउन दिउँसो चारबजेपछि बसेको बैठकमा केही केन्द्रीय सदस्यहरूले पार्टीमा महाअभियोगबारे छलफल नै नभई अचानक कसरी आयोग भन्ने प्रश्नमा देउवाले यस्तो बताएका हुन् । कांग्रेसका केही केन्द्रीय सदस्यहरूले पहिले नै हस्ताक्षर गरे पनि अहिले सोध्दै नसोधी महाअभियोगका लागि प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका थिए । तर, देउवाले सबैलाई थाहा दिँदा अनावश्यक हल्ला हुने भएकोले थाहा दिन नसकेको बताएका थिए ।