साहारा अर्थात सरगम र “दर्पण छायाँ २” – ज्ञानेन्द्र गदाल

साहारा अर्थात सरगम र “दर्पण छायाँ २” – ज्ञानेन्द्र गदाल
अमेरिका कला - संगीत

निर्माता, र चलचित्रको मुख्य पात्र (नायिका) नै कोलोराडोवासी भएकोले पनि हो, “दर्पण छायाँ २” हेर्ने व्यग्र प्रतीक्षामा थियो कोलोराडो नेपाली समुदाय | अर्को मुख्य आकर्षण चलचित्रका निर्देशक तुलसी घिमिरे जो दर्जनौं नेपाली सिनेमाहरुमा एक सफल निर्देशकको Brand नै बनिसकेका छन्, उनीद्वारा निर्देशित नयाँ Cinema हेर्ने चाहना पनि थियो नेपालीहरुमा | अन्ततः यो प्रतीक्षा र चाहना पुरा भयो गत आइतबार, अप्रिल ३० का दिन |

Westminster स्थित AMC थिएटरमा प्रदर्शन गरिएको दर्पण छायाँ-२ हेर्न आउनेको भिड अविश्मरणिय थियो त्यो दिन | Aurora, Denver, Boulder, Longmont, Greeley, State park, Golden, Broomfield आदि ठाउँहरुबाट दर्शकहरु आइरहेका थिए | दर्शकहरु सबैको चाख चलचित्रकी नायिका साहाराप्रति नै देखिन्थ्यो | सबैले आफ्नै छोरी-चेली सरह उनलाई दर्शाएको माया र हृदयदेखि दिएको शुभकामनाले चलचित्र शुरु हुनुअघि उपस्थित भिडको माहोल विशुद्ध सामाजिक सद्भाव र अपनत्वमा रमाईरहेको थियो | मेरा लागि भने यो भिडले साहारालाई दिएको माया र शुभकामना भारि भैराखेको थियो | समग्र चलचित्र कस्तो छ भन्दा पनि सहाराले आफ्नो भूमिका चलचित्रमा कति सफलताका साथ निभाएकी छन् भन्ने एउटै कुरा मात्रै मेरो मनमा भने खेलिरहेको थियो | मेरो भान्जी हुन् साहरा, भर्खर १७ बर्ष पुगेकी | सानैदेखि नृत्यमा चाख राख्ने कुशल नृत्यांगना भए पनि अभिनय जस्तो गाह्रो विषयमा उनको दखल मलाइ पनि थाहा थिएन, उक्त चलचित्र मैले पनि हेरेको थिइन | तर कलाकारिताप्रतिको उनको झुकाव, लगनशीलता र इमान्दारिता चाहिं मैले नजिकबाट नियालेको छु | ढुक्क हुने केहि आधारहरुमध्ये यो नै वलियो आधार थियो मेरा लागि |

निर्धारित समय साँझ ६:०० बजे कलाकार कृष्ण मुरारी ढुंगेलको आग्रहमा वरिष्ठ गायिका मिरा राणा र पूर्व मिस नेपाल इशानी श्रेष्ठबाट नव-नायिका साहारालाई औपचारिक बधाई तथा शुभकामना अर्पणपछि सबैको उत्सुकता चिर्दै सभ्य, भव्य र शान्त वातावरणमा दर्शकले भरिभराउ हलमा साबु-रबि कृत चलचित्र दर्पण छायाँ-२ शुरु भयो | कृष्णमुरारी र म पनि हलको मध्यभागमा सुरक्षित आफ्नो सिटमा बसेर हेर्न थाल्यौं अब DPC2.

हेर्दैगएँ चलचित्र | खल्लो-रसिलो, अमिलो-गुलियो विविध स्वाद अनुभव हुँदै थियो | प्राय सबै नयाँ कलाकार चलाउँछन् तुलसी घिमिरे हरेक चलचित्रमा, जसबाट समसामयिक स्वाद लिन सक्छन् दर्शकहरुले भन्ने पनि होला उनलाई; DPC2 पनि यसबाट फरक छैन रहेछ | टिका पहाडी, सरोज खनाल, भारती घिमिरे, उत्तम प्रधान, आर.पी. पन्त र निर्देशक स्वयं बाहेक अरु सबै नयाँ अनुहार देखिएका छन् मुख्य पात्रको रुपमा | कथामा ठाउँ नहुँदा नहुँदै पनि शिव श्रेष्ठ लगायत अन्य केहि पुराना कलाकारहरुलाई झलाकझूलुक जबर्जस्ति घुसाइएको जस्तो लाग्यो | कथाले खासै चलचित्रलाई डोर्याउन सकेको नदेखिए पनि नव-यौवनाहरु बिचको आपसी प्रेम, स्वच्छ सम्बन्ध, जीवनशैली र व्यवहार जिवन्त छ, यो नै चलचित्रको आकर्षण पनि लाग्यो | कथाको मुख्य सार ‘पुराना श्रष्टाहरुको सम्मान र संरक्षण’लाई सिमित व्यक्ति प्रदर्शन नगरेर अलि Symbolic रुपमा यो विषयलाई प्रदर्शन गर्न सकेको भए कथा व्यापक बन्नेथियो कि ! यो मलाई लागेको कुरा हो | जे होस्, आदर्श समाजको लागि यो एउटा महत्वपूर्ण विषय हो र चलचित्रमा नयाँ पनि | चलचित्रमा समाज लाभान्वित हुने नयाँ विषय पस्कनु तुलसी घिमिरेको अनौठो विशेषता नै हो, यसमा नेपाली समाजले उनलाई धन्य मान्नु पर्छ |

मुख्य नायक-नायिकाको प्रवेश अलि जोशिलो हुनसकेको भए अझ रोमान्चित हुनेथिए दर्शकहरु, सह-नायिकाको प्रवेश भने झक्कास छ | ‘ओ माईगड’ ले हरेकचोटि रमाईलै-रमाइलो गराएका छन्, केशर र सरगमको दोस्ती ज्यादै लोभलाग्दो छ | केशर अभिनय जगतमा एक सम्भावना बोकेको युवक लाग्छन् | आलाप अभिनयको हिसावले ज्यादै सशक्त लाग्छन्, तर संवाद बोलाइमा खस्किएका छन् उनी, स्पष्ट र जोशिलो लवज अलि लाग्दैन नायकको रुपमा | आलाप, सरगम र केशर माया लाग्दा पात्र प्रस्तुत छन् चलचित्रमा | कथा अनुसार सहनायिका निशा अझ माया लाग्दो र सम्मानित पात्रको रुपमा देखिनुपर्ने हो तर शुरुदेखि अन्त्यसम्म उनलाई दर्शकको मन जित्न सक्ने गरि प्रस्तुत गर्न सकिएन, चलचित्र सकिएपछि पनि यो सर्वथा खड्किने विषय हो | नायक नायिकाको रुपमा आलाप र सरगमलाई सबैले रुचाएको देखियो | नायिकाको बाबुपात्र सरोज खनालको अभिनयमा कुनै खोट लाउने ठाउँ छैन | अभिनयको साथै पात्रलाई सशक्त वा कम्जोर सावित गर्ने संवादले हो चलचित्रमा, पात्र Position को हिसावले बोलिने सरोजको संवाद गहन र सशक्त छैन | कथाको विषयलाई गहिरोसंगले छुन सकेको भान हुँदैन उनको संवादमा |

सरगमले निभाएको साथीको भूमिका, प्रेमिकाको भूमिका वा छोरीको भूमिका बेजोड छ, यी हरेक भूमिकामा उनले गरेको अभिनय झन् बेजोड छ | प्रेमिकाको रुपमा बोलिने एकाद संवादहरु केहि अस्वाभाविक छन् उनका तर साथी पात्र र छोरी पात्रको रुपमा उनको संवाद अत्यधिक स्वाभाविक लाग्छ, यो दुवै अवस्थाको प्रश्तुतीमा सरगमले दर्शकहरुलाई पूर्ण सन्तुष्टि दिएकी छन् | बाबु-छोरीको एक संवादमा त सरगमले बोल्दा मन भएका दर्शकहरु शायद नरुने भेटिंदैन हलमा, त्यहाँ पनि तेस्तै भयो | अभिनय, संवाद-प्रश्तुति, हाउभाउ हरेक कुरामा यथोचित न्याय दिएकी छ सरगमले घमण्डी धनाड्य तर आफ्नो लागि सर्वस्व पिताजीसामु बोलिरहँदा | यो बेला उनको अभिनय मा डुबें क्यार ! म पनि अनायशै रुन पुगेछु, छेउमा बसेका मेरा मित्र कृष्णमुरारी ढुङ्गेल पनि उसो त आँखा पुछ्दै नै थिए |

चलचित्रको अन्त्य वियोगान्त छ, नायक (आफ्नो प्रेमी) को अप्रत्यासित मृत्युको आघातले सरगम पनि ढल्छिन् | मृत्युको अभिनय झनै वास्तविक लाग्ने दिएर चलचित्र समापन गरिन् सरगमले |

नेपाली संस्कृतिबाट टाडा अमेरिकामा हुर्की-बढि गरेकी साहाराले नेपाली चलचित्रमा यति सशक्त अभिनय गर्न सक्नु वास्तवमा चानचुने कुरा होइन | “हाम्रो मान्छेको सबैकुरा राम्रो” भन्न खोजेको होइन मैले, यो चरित्र ममा छैन पनि, तर वास्तविकता जोसुकैले भन्नैपर्छ | “साहाराभित्र कलाकारिताको अद्भुत क्षमता छ यो नेपाली चलचित्र जगतको ठूलो सम्पत्ति बन्न सक्छ”; यो भन्न मैले अप्ठेरो मान्नु परेन अब | फिल्म हेरेर हलबाट बाहिरिएका असंख्य दर्शकहरुको प्रतिक्रिया पनि त्यहि नै थियो |

म भने चलचित्र शुरु हुनुभन्दा पहिला जुन कुराले पिरोलिरहेको थिएँ, त्यो पीरबाट म मुक्त भएँ | मन हल्का भयो, एकपटक साहारालाई सम्झिएँ, उनलाई हेरें र मनमनै आशिर्वाद दिएँ; तिम्रो भविष्य उज्ज्वल छ, तिमीसंग भएको कलाकारितालाई सधैं पूजा गर्नु, यसलाई मर्न नदिनु, तिमीमा सरस्वतीको वास छ |

समग्रमा, चलचित्र “दर्पण छायाँ २” ले दर्शकहरुलाई निराश बनाउंदैन र बनाएन पनि | मेरो छोराको वास्तविक नाम मेरो भान्जिले एउटा सशक्त कलाकारको रुपमा धारण गरेकी छन्, दर्पण छायाँ-२ त मेरो लागि झन् प्रिय सावित बन्यो |

Post Comment