सर्वोच्च अदालतमा आज भरतपुर महानगरपालिकाको मतगणनाका विषयमा सुनुवाई हुँदैछ । सबैको ध्यान सर्वोच्चमा केन्द्रित छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाकै क्रममा मतपत्र च्यातियो तब भरतपुर राष्ट्रिय राजनीतिको द्वन्द्व र विवादको कारण बन्यो । निर्वाचन आयोगले गठन गरेको छानबिन समितिले ९० वटा मतपत्र च्यातिएको रिपोर्ट बुझाएपछि निर्वाचन आयोगले उक्त विवाद समाधान गर्न शनिबार भरतपुर १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गर्यो । त्यस विरुद्ध परेको रिटमा सनुवाई हुन लागको हो ।
एमालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमा निर्वाचन आयोगको निर्णय, छानबिन समितिको प्रतिवेदन, पुनःमतदान गर्न गरिएको पत्राचार र कामकारबाही तथ्य विहिन, गैर संवैधानिक, गैर कानुनी, विधिको शासन विपरित, निर्वाचन स्वतन्त्रता, निष्पक्षता र निर्वाचन आयोगको तटस्थता विपरित स्वऐच्छाचारी, आत्मनिष्ट, हचुवा एवम् दूराशय युक्त रहेको भन्दै उक्त निर्णय बदर गर्न माग रिट दायर भएको हो ।
सर्वोच्च अदालतले तत्काल पुनमतदानको निर्णय रोक्न माग गर्दै आज दुवै पक्षलाई बोलाएको छ । निर्वाचन ऐनको कानुनी व्यवस्था जेजे भए पनि सार्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट परिसकेको अवस्थामा अब सबैको प्रतिक्षा सर्वोच्चको फैसलामा अड्किएको छ । निर्वाचन आयोगले भने फेरि मतदान गर्ने निर्णय गरेको थियो ।
निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि आज सुनुवाइहुन लागेको हो । पछिल्लो उदाहरण नै हेर्ने हो भने आइजीपी नियुक्ति विवादमा सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदिएपछि निर्वाचनको मुखमा सुरक्षा निकाय नेतृत्व विहिन बन्नु परेको थियो। त्यसैगरी व्यवस्थापिका संसदमा प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव समेत फिर्ता गर्न सरकार र व्यवस्थापिका संसद् सचिवालय बाध्य भएका थिए।
यसरी हेर्ने हो भने सार्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय उल्टाउने अनुमान गर्न सकिन्छ । तर, सनुवाइृको प्रतिक्षा भने गर्नै पर्छ । निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार नै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणनाका क्रममा मतपत्र च्यातिएपछिको विषयमा गठन भएको छानबिन समितिले दिएको प्रतिवेदन अनुसार वैशाख ३१ मा भएको १९ वडाका सबै मतपत्र अवैध घोषित गर्दै पुनः मतदान गर्ने घोषणा गरेको थियो ।