माओवादी हार्नुको रहस्य हरिबोल गजुरेलले खुलाए

माओवादी हार्नुको रहस्य  हरिबोल गजुरेलले  खुलाए
राजनीति

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले स्थानीय तहको चुनावमा पार्टीले धेरै तहमा हार्नुको कारण खुलाएका छन् ।

पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको हितमा धेरै काम गरे पनि चुनावमा मत तान्न नसक्नुमा पार्टीकै कमजोरी भएको औँल्याएका छन ।
पार्टीको नेतृत्वमा भएका कामहरु सन्तोषजनक भए पनि चुनावी नतिजमा भने माओवादीले कम भोट पाउनुमा जनतासमक्ष पार्टीले सही सुचना प्रवाह गर्न नसकेको गजुरलेको भनाई छ ।

चुनावका बेला नेपाली कांग्रेससँग भएको तालमेल पनि प्रभावकारी हुन नसकेको उनले औँल्याएका छन् । पहिलोे चरणको स्थानीय तहको चुनावमा १६ प्रतिशत मात्रै मत ल्याएको माओवादीले दोस्रो चरणमा २० प्रतिशत जीत हासिल गर्ने अनुमान गरेको गजुरेलले खुलाएका छन् ।

तर आँकलन गरिए अनुसारका स्थानमा पनि माओवादीले जित्न नसकेको गजुरेलले स्वीकार गरेका छन् । चुनावी नतिजाले पार्टीलाई गम्भीर बनाएको र सोही अनुसार बहस र समिक्षा भइरहेको गजुरेलले बताएका छन् । तर उनले अस्वभाविक परिणामको रुपमा भने नलिएको बताए ।

गजुरेलले पार्टी टुटफुटको सिकार भएकाले निर्वाचनमा अपेक्षित नतिजा आउन नसकेको भन्दै नतिजालाई अस्वभाविक रुपमा लिन नहुने बताएका हुन् । पछिल्लो पटक छरिएर रहेका विभिन्न माओवादी पार्टीसँग भएको एकतालाई पनि तल्लो स्तरसम्म सन्देश पु¥याउन नसक्नु पार्टीको कमजोरी भएको नेता गजुरेलको ठम्याई छ ।

गजुरेलले विभन्न दलसँग एकता भएपछि पार्टीको संगठन निर्माण हुन नसक्नुले पनि कमजोर बनाएको उल्लेख गरे । उनले भने, “६ महिनासम्म केन्द्रिय सदस्य २ सय बनाउने कि, ४ हजार बनाउने वा ८ हजार बनाउने भन्नेमा टुङ्गो लागेन । ” “विवादकै बिच ६ महिनासम्म संगठनको काम रोकिनु पार्टीका लागि हानिकारक भएको हो ।” गजुरेलले भने ।

प्रधानमन्त्रीको हैसियतमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन गराउन सफल भएको उल्लेख गर्दै नेता गजुरेलले मधेशी मोर्चासँग पनि वार्ता मार्फत सहज वातावरण बनाएको दाबी गरेका छन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराकै पहलमा चिनसँग वान बेल्ट रोड ओबिआर सम्झौता भएको उनको भनाई छ ।

फास्ट ट्रयाक लगायतका राष्ट्रिय गौरवका आयोजना समेत दाहाल नेतृत्वको सरकारले नै अघि बढाउन सफल भएको उनको तर्क छ । माओवादी नेतृत्वको सरकारका पालामा बन्द हडताल जस्ता गतिविधि पनि नभएको र विद्युत आपूर्तिमा भएको कुशल व्यवस्थापनले देशकै अर्थतन्त्रमा सुधार आएको गजुरेलको प्रष्टोक्ति छ ।

Post Comment