विवाहको भोजमा गएर फर्किदै गरेको जिप बाढीले बगाएको छ । तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३ अम्लियानको सीमानामा पर्ने तिनाउ नदीमा आएको बाढीले लु १ ज १२ १७ नम्बरको जीप बगाउँदा चारजना बेपत्ता भएका छन् ।
अविरल वर्षाले तिनाउ खोला बढेको थियो । खोला बढेकाले आइतबार राति ३ बजेतिर जिप बगाएको हो । खोलाको बिचमा भएको बाटोमा पानीको गहिराइ थाहा नहुँदा जिप फसेको थियो । त्यसपछी जिप बगाएको पाल्पाका प्रहरी प्रमुख हरिराज वाग्लेले बताए ।
नदीमा हराइरहेकोमा चालकी श्रीमती उषा श्रेष्ठ, पदमबहादुर कुँवर तथा तिलबहादुर गाहा र उनकी श्रीमती माया रहेका छन् । बाढीमा डुबेकाको उद्धारमा ढिलाई भएको पीडित परिवारले गुनासो गरेका छन् । पानीको सतह बढी भएकाले उद्धारमा कठिनाइ भएको वाग्लेले बताए ।
चलिरहेको गाडी खोलामा पुग्दा एक्कासी बन्द भएपछि उनीहरुले सदरमुकाम तानसेनमा रहेका आफन्त र प्रहरीलाई खबर गरेका थिए । सदरमुकाम तानसेनबाट चालक श्रेष्ठका आफन्त पुगेर डोरीको सहायताले श्रेष्ठलाई उद्धार गर्न सफल भएपनि अरु चारजना गाडीसहित बेपत्ता भएका हुन् ।