पोखरामा गिद्धका फोटो प्रदर्शनी

पोखरामा गिद्धका फोटो प्रदर्शनी
समाज

नवौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

पक्षी समाजको आयोजनामा शनिबार पोखरामा गिद्धका फोटो प्रदर्शनी र गिद्धसम्बन्धी विद्यालयस्तयरीय चित्रकला प्रतियोगिता गरिएको हो ।

प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणको अभावमा संकटमा पर्दै गएको छ । नेपालमा गरिएको विभिन्न अध्ययनले दुई दशकमा गिद्धको संख्या झन्डै ९० प्रतिशतले घटेको देखाएको छ ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा ६ प्रजातिका गिद्ध पाइने फोटो पत्रकार कृष्णमणि बरालले बताए ।

पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेकाअनुसार डंगर, सुन गिद्ध, सानोखैरो, हार्डफोर, सेतो गिद्ध र हिमाली गिद्ध नेपालका रैथाने प्रजाति हुन् ।

तथ्यांकअनुसार नेपालमा डंगर गिद्ध एक हजारदेखि दुई हजार, सानोखैरो गिद्ध ५० देखि ७५, सुन गिद्ध २०० देखि ४००, सेतो गिद्ध ३०० देखि एक हजार, हिमाली गिद्ध ६० देखि १०० र हार्डफोर गिद्ध ५०० को संख्यामा छन् ।

फोटो प्रदर्शनीमा विभिन्न ४० ओटा फोटामध्ये पत्रकार कृष्णमणि बरालका २५ ओटा फोटासहित पत्रकार राम गुरुङ, मनशान्त घिमिरे र हेमन्त ढकालका पाँच/पाँचओटा फोटा राखिएका थिए ।

सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिका अभिन्न अंग गिद्ध विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि गिद्ध संरक्षणमा जनसहभागिता जुटाउन सन् २००९ देखि अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन थालिएको हो ।

Post Comment