रेकर्ड ब्रेकर ‘छक्का पञ्जा २’ :१० करोड रुपैयाँभन्दा माथिको कारोबार

रेकर्ड ब्रेकर ‘छक्का पञ्जा २’ :१० करोड रुपैयाँभन्दा माथिको  कारोबार
कला - संगीत मनोरन्जन

असोज ११ फूलपातीको दिनदेखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले प्रदर्शन भएको दिन देखि नै दिनहुँ करोडको कारोबार गरिरहेको छ ।

यो सिनेमा दोस्रो सातामा पनि हाउसफूल छ । प्रदर्शनमा आएको ११ दिनमा सिनेमाले १० करोड रुपैयाँभन्दा माथिको  कारोबार गरिसकेको छ । गत वर्षको रेकर्ड ब्रेकर सिनेमा ’छक्का पञ्जा‘को सिक्वेल ‘छक्का पञ्जा २’ ले छोटो समयमै नेपाली सिनेमाको इतिहासमा रचिएका प्रायः रेकर्ड तोडिसकेको छ ।

एक हप्तासम्म दिनहुँ करोडको कारोबार गर्ने पहिलो नेपाली सिनेमाको रेकर्ड ‘छक्का पञ्जा–२’ को नाममा छ । त्यस्तै रिलिज भएको पहिलो दिन सिनेमाले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा बाहुबलीले राखेको रेकर्ड पनि तोडिसकेको छ ।

देशभरका सयभन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ ।

अहिलेसम्म हलमा दर्शकको क्रेज र कारोबाका आधारमा  ‘छक्का पञ्जा २’ ले आफ्नै सिक्वेलले राखेका रेकर्डहरु तोडेर अघि बढिरहेको छ । गत वर्ष सय दिन मनाएको ‘छक्का पञ्जा’ले सय दिन सम्म १७ करोडको कारोबार गरेको थियो । तर ‘छक्का पञ्जा २’ ले भने रिलिज भएको ११ दिनमै झण्डै १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ । सिनेमाको कारोबर अझै केही दिन यही गतीमा अघि बढ्ने  पक्का छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा  दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाललगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

Post Comment