एकदिवसीय मान्यता: नेपाललाई फाइदा के ?

एकदिवसीय मान्यता: नेपाललाई फाइदा के ?
खेल

जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोटको क्रस प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेपछि र अर्को प्लेअफमा नेदरल्याण्ड्सले हङकङलाई हराएपछि नेपालले आगामी सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउने निश्चित भएको छ ।

योसँगै नेपाली क्रिकेटले अर्को चरणमा प्रवेश गरेको छ र, अवको यात्रा नेपालका लागि चुनौतिसँगै धेरै अवसर पनि छ । नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा रहेको अवस्थामा नेपालले पाएको यावत अवसरहरु कतै खेर जाने त होइन भन्ने चिन्ता पनि सुरु भएको छ, कारण हामीले यसअघि पाएको टि–२० अन्तर्राष्ट्रिय मान्यता आपसी विवाद र आईसीसीको निलम्बनले त्यत्तिकै खेर गएको थियो ।

एकदिवसीय मान्यता पाएपछि सबैभन्दा मुख्य कुरा त नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता प्राप्त अन्य मुलुकसँग खेल्न पाउँछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अनुदान लगायत खेलाडीको म्याच फी र सुविधा ह्वात्तै बढ्छ ।

एकदिवसीय मान्यतापछि नेपालले पाउने अर्को ठूलो उपलब्धि भनेको नेपाली टोलीले इन्टरकन्टिनेन्टल कपमा सहभागिता जनाउनेछ । जुन, चारदिवशीय हुनेछ ।

यस्तै आईसीसीसँग सहकार्य गरेर आँफैले पनि एकदिवसीय श्रृखंलाको आयोजना गर्न सक्छ । तर नेपालमा क्रिकेटको आधिकारीक निकाय नहुँदा तत्कालका लागि केही कठिन भने हुनेछ ।

एकदिवसीय मान्यता पाएपछि नेपाल र नेपाली खेलाडी आईसीसीको एकदिवसीय बरियताका समावेश हुनेछन् । त्यस्तै एकदिवसीय मान्यता पाएका देशहरुबीच आईसीसीले त्रिकोणात्मक वा द्विदेसीय सिरिज आयोजना गर्न सक्छ जसको फाइदा नेपाली खेलाडीहरुले आत्मसाथ गर्न सक्छन् ।
अर्को कुरा एकदिवसीय मान्यता पाएपछि नेपालले स्वतः टि–२० मान्यता पनि पाएको छ, जसले टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न पनि नेपालले आधिकारिकता पाएको छ । नेपालको घरेलु लिगको मापदण्ड अन्तर्राष्ट्रिय स्तरको भएमा त्यसलाई आइसीसीले लिष्ट ए को मान्यता पनि दिन सक्छ ।

Post Comment