पूर्वराजा ज्ञानेन्द्र शाहकी भतिजी श्रेया राज्यलक्ष्मी शाहको नेपाली नागरिकताको निवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिर्ता गरेको छ । विभिन्न सरकारी अड्डाले पनि उनको नागरिकताका लागि सहयोग गरेको छैन ।
एउटा साप्ताहिक पत्रिकालाई दिएको अन्तरवार्तामा श्रेयाले जिल्ला प्रशासन कार्यालयले निवेदन फिर्ता गरेको गुनासो गरेकी छन् ।
उनी ज्ञानेन्द्रका कान्छा भाई धीरेन्द्रकी जेठी पत्नी जयातर्फकी छोरी हुन् । धीरेन्द्र दरबार हत्याकाण्ड ०५८ मा मारिएका थिए ।
‘नेपाली भएर जन्मिएँ, नेपाली भएरै बाँच्न र मर्न चाहन्छु, तर मलाई मेरै देशले नेपाली बन्नबाट वञ्चित गर्न खोज्दै छ, मैले न्याय माग्न कहाँ जाने हो’, उनले गुनासो गरेकी छन् ।
एमआरपी बनाएर थप अध्ययनका लागि अमेरिका प्रस्थानको तयारी गरेकी श्रेयालाई नागरिकता बनाउनका लागि सरकारी निकायले असहयोग गरेको हो । ‘यो हदसम्मको ‘अनफेयर’ व्यवहार आफ्नै देशमा गरिन्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । मैले आफूलाई नेपालीको रूपमा राखिरहन खोज्दा यसरी सताइएकी छु’, उनले भनेकी छन् ।
श्रेयाको जन्म आमा जया पाण्डे शाहको कोखबाट वि.सं. २०४५ साल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भएको थियो । त्यसको एक वर्षअघि २०४४ (अप्रिल २१, १९८७) सालमा अधिराजकुमार धीरेन्द्रसँग दक्षिणकाली मन्दिरमा गई विवाहबन्धनमा बाँधिएकी जयालाई धीरेन्द्रको वैवाहिक जीवनबारे थाहा थियो ।
श्रेयाले जन्मसिद्ध वंशजको आधारमा नागरिकताका लागि निवेदन दिएकी थिइन् । २ महिनादेखि उनको नागरिकतासम्बन्धी निवेदन प्रशासन कार्यालयमा रोकिएको छ ।
बाबु मारिँदासम्म श्रेया नागरिकताका लिने उमेरकी थिइनन् ।
अमेरिकाको बस्टनस्थित मिडिल सेक्स कम्युनिटी कलेजमा ‘एल्डर केयर’ विषयको अध्ययन गर्दै रहेकी श्रेया अमेरिकाको पासपोर्ट ग्रहण गर्न इच्छुक भइनन् । नेपाली भएरै बाँच्छु र मर्छु भन्ने अठोट उनको थियो र छ । पहिले लिइएको हस्तलिखित पासपोर्टको सट्टामा एमआरपी लिन उनी गत अक्टोबरमा नेपाल आएकी थिइन् ।
वास्तवमा श्रेयाले नेपाली बन्न नचाहेर अमेरिकन नागरिक बन्न चाहेकी भए उनका निम्ति यसप्रकारको कठिनाइ उत्पन्न हुन सम्भव थिएन ।
उनले भनेकी छन्, ‘म यही मेरो देशमा जन्मिएकी हुँ । यसलाई मेरो घर ठान्दथँे र असाध्यै माया लाग्थ्यो यो मुलुकको । माया त अहिले पनि लाग्छ नै । तर, नागरिकताको प्रमाणपत्र लिन खोज्दा मैले जे–जस्ता कुराको सामना गर्नुपरेको छ यसले मलाई स्तब्ध बनाएको छ ।’