‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भन्ने भारितय सासंद प्रति सरकारको आपत्ती

‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भन्ने भारितय सासंद प्रति सरकारको आपत्ती
राजनीति

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको कडा शब्दमा निन्दा गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ भारतीय जनता पार्टीका सांसद आजादको अभिव्यक्ति निन्दनीय र भत्सर्नायोग्य रहेको भन्दै आपत्ति जनाउनु भएको हो । सोमबार प्रतिनिधिसभामा सांसदहरुले भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेकोमा आपत्ति जनाएपछि परराष्ट्रमन्त्री ज्ञवालीले त्यस सम्बन्धमा भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउने जानकारीसमेत दिनु भयो । उहाँले नेपाल–भारत सम्बन्ध बिगार्ने गरी सांसद आजादले गलत मनसाय राखेको आरोप पनि लगाउनुभयो ।

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति संविधान र कूटनीतिक मर्यादा विपरीत भएको स्वीकार गर्दै आउँदो दिनमा त्यस्तो गल्ती हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले संघीय सरकारले परराष्ट्र सम्बन्धलाई हेर्ने काम गर्छ भन्ने हेक्का राख्न पनि मुख्यमन्त्री राउतलाई सचेत गराउनुभयो ।

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गर्ने क्रममा ‘संविधानविरुद्ध संघर्ष गरिरहनु परेको’ सार्वजनिक अभिव्यक्ति दिनु भएको थियो । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले त्यस धारणाप्रति आपत्ति जनाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्ञवालीले आईन्दा त्यसो हुन नदिन सरकार सचेत रहेको बताउनुभयो । उहाँले सरकारले विगतमा भएका सहमति आउँदो असोज ३ गते संविधान दिवसको दिन भित्र कार्यान्वयन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय छलफल गरेर गर्व गर्न लायक काम गरेको दावीसमेत गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकार राष्ट्रहितसँग सम्बन्धित विषयलाई कार्यान्वयनमा लैजान भारत सरकारसँग आवश्यक पहल गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

Post Comment