‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहितका पाँचजनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।
सफाइ पाउनेमा थापासहित पूर्वराष्ट्रिय खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकाससिंह क्षत्री र अन्जन केसी रहेका छन् ।
आरोपित खेलाडीहरुको मुद्दामाथि विशेष अदातलमा बुधबार (हिजो)देखि जारी अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले बिहीबार उनीहरुलाई सफाइ दिएको हो ।
पूर्वकप्तान सागर थापासहितका खेलाडीहरुले राष्ट्रिय फुटबल टोलीका लागि खेलेका विभिन्न खेलमा मिलेमतो गरेको आरोप लागेको थियो ।
प्रहरीले वि.सं. २०७२ साल असोज २७ गते राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
सरकारी वकिलको कार्यालयले उनीहरुलाई राज्यविरुद्धको अपराध ऐनअन्तर्गत् जन्मकैदको माग गदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपालमा ‘म्याच फिक्सिङ’सम्बन्धी कानुन नभएकाले उनीलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।
फिफाको आजीवन प्रतिबन्ध कायमै
विशेष अदालतबाट सफाइ पाएपनि पाँचैजनालाई विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले लगाएको आजीवन प्रतिबन्ध भने कायमै छ ।
सफाइ पाएका पाँचजनामध्येका अन्जन केसी केही समयअघि इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अवैध सट्टेबाजी गराएको आरोपमा पक्राउ परेका थिए ।
केसीमाथिको उक्त मुद्दा अदालतमा विचाराधीन रहेपनि उनी हाल धरौटीमा रिहा भएका छन् ।