पाँचौँ अनुपम साङ्गीतिक साँझमा ४ जना सम्मानित (फोटो फिचर)

पाँचौँ अनुपम साङ्गीतिक साँझमा ४ जना सम्मानित (फोटो फिचर)
कला - संगीत जनसरोकार समाज साहित्य


पोखरा, जेठ । अनुपम म्युजिक पोखराको आयोजनामा भएको पाँचौँ अनुपम साङ्गीतिक साँझमा ४ जना सम्मानित भएका छन् । सम्मानित हुने ब्यक्तित्व हरुमा क बि तिर्थ श्रेष्ठ, समाजसेवी गोमा ढकाल, गीतकार जयकुमार परियार र गायक सन्जीव पराजुली रहेका छन । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा अनुपम म्युजिक अवार्डबाट गीतकार तिर्थ श्रेष्ठ सम्मानित हुनुभएको हो । कविका रुपमा समेत प्रसिद्ध गीतकार श्रेष्ठलाई नगद, अवार्ड, दोसल्ला र सम्मानपत्रसहित प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी, लेखक तथा पत्रकार बद्रिविनोद प्रतीक, नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारीलगायतले सम्मान गर्नुभएको थियो ।


यस्तै, तीर्थहरि स्मृति प्रतिष्ठानद्वारा स्थापित तथा अनुपम म्युजिकद्वारा सञ्चालित तीर्थहरि समाजसेवा अवार्ड यस पटक समाजसेवी गोमा ढकाललाई प्रदान गरियो । रेन्बो चिल्ड्रेन होमकी निर्देशक ढकाल बालगृह महासङ्घकी केन्द्रीय उपाध्यक्ष पनि हुन् । उनले १ सयभन्दा बढी बालबालिकालाई संरक्षण प्रदान गर्दै आएकी छन ।

यसै गरी अनुपम सङ्गीत सम्मानबाट गायक तथा सङ्गीतकार जयकुमार परियार र गायक सन्जीव पराजुलीलाई सम्मान गरिएको थियो ।

उहाँहरुलाई प्याब्सनका केन्द्रीय सदस्य कृष्ण केसी, पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङ, गीतकार होम न्यौपाने, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, जनसांस्कृतिक महासङ्घ प्रदेश नं. ४ का इन्चार्ज मनकुमार श्रेष्ठलगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश नं. ४ को सरकारले नै प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रतिबद्धता जनाउनुभयो ।


देश भौतिक रुपमा जति समृद्ध भए पनि कला साहित्य, सङ्गीत र संस्कृतिको विकास नभएसम्म त्यसलाई समृद्ध मान्न नसकिने तर्क गर्दै मन्त्री गुरुङले प्रदेश ंसरकार यसप्रति सचेत रहेको बताउनुभयो । उहाँले असार १ गते प्रस्तुत गरिने बजेटमै कला साहित्यको विकासका लागि बजेट विनियोजन गर्ने जनाउनुभयो ।


कार्यक्रमका अध्यक्ष तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपमले साङ्गीतिक क्षेत्रमा गरेको लगानीबाट भएको आम्दानी समाजसेवका क्षेत्रमा लगाउँदै आएको जानकारी दिनुभयो । उहाँले अनुपमले सङ्गीत र समाजसेवालाई जोडेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।


सम्मानित व्यक्तित्व गीतकार तिर्थ श्रेष्ठले विधागत प्रज्ञा प्रतिष्ठानहरु जोड्ने सरकारको योजनाप्रति असन्तुष्टि जनाउँदै जनभावनाविपरीत काम नगर्न सरकारलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा गायक सन्जीव पराजुली, जयकुमार, रामभक्त जोजिजू, इतु जोजिजू, शीतल थापा, कौशल्या गुरुङ, दर्ुगा मगर, मुरारी गुरागाईँ, टीका प्रर्साईँ, तमन्ना गुरुङ, दिलकुमारी मगर, दर्ुगा मगर, सुदिप गुरुङलगायतले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।


सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा डी सरगम कला केन्द्र, पोखरा कला केन्द्र र हिमाली बाल कल्याण संरक्षण मञ्चका तर्फाट नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

Post Comment