नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारका पछिल्ला कामकारवाहीप्रति तीव्र विरोध जनाएका छन् । नेपाली कांग्रेसले मंगलबार गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारको कामकारवाहीप्रति आलोचना गरेका हुन् ।
उनले रातोझन्डा ओढेपछि सबै खत माफि हुने व्यवस्था लागु गर्न लागिएको बताए ।
“रातो झन्डा ओढेपछि सबै खत माफ हुन्छ ? भ्रष्टाचार गरे पनि हुन्छ । बलात्कार गरे पनि जेल जानुपर्दैन । मान्छे मारे पनि हुन्छ । हिजो लुटेका सम्पत्ति पास गराउने खेल भएको छ,” पौडेलले आक्रोश व्यक्त गर्दै भने । उनले सीमित व्यक्तिलाई धनी बनाउने प्रयास भएको भन्दै सरकारको आलोचना गरे ।
“संघीयता, लोकतन्त्र र गणतन्त्र कार्यान्वयनतिर यो सरकार अघि बढेको छैन,” उनले भने, “अधिकार प्रधानमन्त्रीमा केन्द्रित हुँदैछ ।” उनले प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरे प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गरिनुपर्ने बताए ।
उनले न्यायपरिषदले के आधारमा सिफारिस गरेकोे भन्दै प्रतिप्रश्न गर्दै अनुमोदन नभए प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्ने बताए । “न्यायपरिषदले सिफारिस गर्दासम्म कसरी ठिक थियो । यदि उल्ट्याउने हो भने केपी ओली, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्छ । न्याय परिषद् र संवैधानिक परिषदका पदाधिकारी निस्कासित हुनुपर्छ । के हेरेर सिफारिस गरियो ?”
उनले सभामुख र उपसभामुख एउटै पार्टीका हुन नहुने संवैधानिक व्यवस्था भए पनि अहिले पदबाट राजीनामा दिएको भन्दै पन्छिएको बताए । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको नारा लगाएको भए पनि अहिले सबैभन्दा बढी भ्रष्टाचार भएको बताए ।