नेपाल भ्रमण वर्ष २०२० : २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य

नेपाल भ्रमण वर्ष २०२० : २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य
पर्यटन

नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा निकै महत्त्वाकाङ्क्षी लाग्ने २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न पर्यटकहरू न्यून सङ्ख्यामा आउने मौसममा उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको पर्यटन विभागले जनाएको छ।

सोहीअनुरूप धेरै पर्यटक आउने देश भारत र चीन लगायतका देशमा नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको काम अघि बढाइएको बताइएको छ।

नेपालमा पर्यटकको आकर्षण धेरै भएको बताउने पर्यटन व्यवसायीहरूले भने विमानस्थल, सडकजस्ता भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन्।

सन् २०१७ मा झन्डै १० लाख पर्यटक नेपाल आएका थिए। अबको डेढ वर्षपछि सुरु हुने नेपाल भ्रमण वर्षभरिमा पर्यटकको सङ्ख्या दोब्बर बनाउने लक्ष्य सरकारले लिएको छ।

कतिपयले यसलाई सरकारको महत्त्वाकाङ्क्षी योजना भनिरहेका बेला पर्यटन बोर्डले वर्षैभरि पर्यटन आउने अवस्थाको सिर्जना गर्न लागिएको जनाएको छ।

बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी भन्छन्, “अक्टोबर, नोभेम्बर र डिसेम्बरमा जहिले पनि ठूलो सङ्ख्यामा पर्यटकहरू भित्रिने तर गर्मी र वर्षाको बेला साह्रै कम पर्यटक आउने भएकाले कम पर्यटक आउने समयलाई लक्षित गरेर विशेष प्रचार प्रसारको काम गर्दैछौँ।”

त्यसका लागि सन्देश र लोगो सातवटा भाषामा बनाएर पठाइसकिएको उनको भनाइ छ।

नेपालमा धेरै पर्यटक आउने देशमा भारत पहिलो‚ चीन दोस्रो र संयुक्त राज्य अमेरिका तेस्रोमा पर्छन्।

ती देशहरूका अतिरिक्त अन्य देशहरूमा नेपाल सबैजसो पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी पुर्‍याउने र उनीहरूलाई आकर्षित गर्ने गरी काम अघि बढाइएको कार्यकारी अधिकृत जोशी बताउँछन्।

उनी भन्छन्, “भारत र चीन दुईवटा बजारमा अझै बढी प्रचारप्रसार गर्नेछौँ। म्यानमार‚ भियतनाम‚ बाङ्ग्लादेशबाट पनि राम्रै सङ्ख्यामा पनि पर्यटक भित्र्याउन सकिन्छ।”

नेपाल वायुसेवा निगमले थपेका दुईवटा जहाजले जापान र कोरिया उडान गरे पर्यटकको सङ्ख्या बढ्ने उनको अपेक्षा छ।

Post Comment