अनटिएफले पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

अनटिएफले पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने
खेल

युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले आसन्न एसियन खेलकुदमा तेक्वान्दो खेल तर्फ नेपालका लागि पदक जित्ने खेलाडीलाई नगद पुरस्कार उपलब्ध गराउने निर्णय गरेको छ ।

विश्वभरि छरिएर रहेका तेक्वान्दो खेलका पूर्वप्रशिक्षक, प्रशिक्षक, पूर्वखेलाडी तथा खेलाडीहरूको संस्था अनटिएफले इन्डानेसियाको जर्कातामा हुन लागेको १८ औं एसियन खेलकुद प्रतियोगितामा नेपालका लागि स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमशः जनही ५ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार उपलब्ध गराउने भएको संस्थाका अध्यक्ष सन्तोष प्रधान तथा महासचिव लभ गोर्खाली द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूको मनोवल बढाउन संस्थाले गरेको नगद पुरस्कार दिने घोषणाले सहयोग पुग्नेछ भन्ने विश्वास रहेको जनाएको छ । साथैं आगामी दिनमा अझ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई बढी सहयोग गर्न सकौं भन्ने चाहना समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

१८ अगस्तदेखि २ सेप्टेम्वर सम्म हुने एसियन खेलकुदमा सहभागी हुने राष्ट्रिय तेक्वान्दो टोलीका खेलाडी तथा प्रशिक्षकहरूलाई अनटिएफले झण्डै २ लाख मूल्य बराबरको ट्राकसुट उपलब्ध गराएको छ ।

हाल दक्षिण कोरियामा रहेको टोलीका खेलाडी तथा प्रशिक्षकहरूलाई त्यहा रहेका संस्थाका नेपाल च्याप्टरका पूर्वअध्यक्ष तथा सल्लाहकार नोर्वु लामाले पूर्वओलम्पियनद्वय दीपक विष्ट र संगिना वैद्य तथा प्रशिक्षक बद्री घिमिरेको उपस्थितिमा ट्राकसुट हस्तान्तरण गरेको जनाइएको छ ।

युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले स्थापनाकालदेखि नैं नेपालको खेलकुद विकासमा सहयोगी बन्दैं खेलाडीहरूलाई समेत संस्थाले आफ्नो क्षमता अनुसार अनुसार सहयोग गर्दै आएको छ ।

Post Comment