भारतीय कप्तान विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अवार्डमा वर्षका उत्कृष्ट क्रिकेटरसहित प्रमुख तीन उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । कोहलीको नेतृत्वमा भारतले हालै अस्ट्रेलियामा पहिलोपल्ट टेस्ट र वान–डे अन्तर्राष्ट्रिय शृंखला जितेको थियो ।
विश्व क्रिकेटको सर्वोच्च संस्थाले प्रदान गर्ने वार्षिक अवार्डमा कोहलीलाई टेस्ट र वान–डे अन्तर्राष्ट्रिय वर्षको उत्कृष्ट खेलाडीमा चुनिएको छ । पूर्व खेलाडी र भेट्रान पत्रकारको भोटका आधारमा वर्ष खेलाडी चुनिएको थियो ।
प्रदर्शनका आधारमा वर्ष २०१८ मा कोहली शीर्षस्थ ब्याट्सम्यान थिए । गत वर्ष उनले ५५.०८ को औसतमा १ हजार ३ सय २२ टेस्ट रन बनाए, जसमा ५ शतक सामेल थियो । उनले वान–डे अन्तर्राष्ट्रियमा ६ शतकसाथ १ हजार २ सय २ रन बनाएका थिए ।
कोहलीलाई लगातार दोस्रो वर्ष आईसीसी टेस्ट र वान–डे अन्तर्राष्ट्रिय टोलीको कप्तान बनाइएको छ । टोलीमा अन्य देशका उत्कृष्ट खेलाडी पनि समेटिएको छ । अस्ट्रेलियाका आरोन फिन्च लगातार दोस्रो वर्ष ट्वान्टी–२० अन्तर्राष्ट्रिय वर्ष क्रिकेटरमा चुनिएका छन् ।