आइपीएलको शीर्ष टोली चेन्नई सुपर किंग्सलाई सनराइजर्स हैदरावादको नमिठो झट्का लागेको छ । बुधबार राति भएको खेलमा चेन्नई हैदरावादसँग ६ विकेटले पराजित भयो ।
राजिव गान्धी क्रिकेट मैदानमा चेन्नईले दिएको एक सय ३३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले १६.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
हैदरावादका लागि जोनी वैयर्सटो र डेभिड वार्नरले अर्धशतकीय इनिङ खेले । वैयर्सटोले अविजित ६१ रन र वार्नरले ५० रन बनाए ।
बलिङमा चेन्नईका इमरान ताहिरले दुई विकेट लिए । दिपक चाहर र करन शर्माले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ३२ रन बनाएको थियो ।
चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ४५ रन बनाए । अर्का ओपनर सेन वाटसनले ३१, आम्बाती रायुडुले २५, कप्तान सुरेश रैनाले १३ र रविन्द्र जडेजाले अविजित १० रन बनाए ।
बलिङमा हैदरावादका राशिद खानले दुई, सहवाज नदीम, खलिल अहमद र विजय शंकरले एक एक विकेट झारे ।
यसहारसँगै चेन्नईले शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउने मौका गुमाएको छ । चेन्नईले नौ खेलबाट १४ अंक बनाएको छ । पाँचौं स्थानमा रहेको हैदराबादले आठ अंक बनाएको छ ।