भारतको लोकसभा चुनाव : दोस्रो चरण सम्पन्न , ६१ प्रतिशतभन्दा बढी मत खस्यो

भारतको लोकसभा चुनाव :  दोस्रो चरण सम्पन्न ,  ६१ प्रतिशतभन्दा बढी मत खस्यो
अन्तर्राष्ट्रिय समाचार

भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव सम्पन्न भएको छ।

भारतीय निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा ५.४० बजेसम्म ६१ प्रतिशतभन्दा बढी मत खसिसकेको थियो।

दोस्रो चरणको मतदानमा दशौँ लाख भारतीयहरू सहभागी भएका छन्। अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको खबर छ।

उडिसा राज्यमा एकजना निर्वाचन अधिकारीलाई माओवादी विद्रोहीहरूले एम्बुसमा पारी गोली हानी हत्या गरिदिएका छन्।

भारत प्रशासित कश्मीरको श्रीनगरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुने आशमा छन् भने विपक्षी कंग्रेसले उनलाई चुनौती दिइरहेको छ।

बिहीवार बिहान मतदान सुरु हुनुभन्दा केही घण्टा अगाडि उडिसाको एक मतकेन्द्रमा जाँदै गर्दा सन्जुक्ता डिगलको गाडीमाथि माओवादीहरूले आक्रमण गरे।

बिहीवारको दोस्रो चरणको मतदान १२ राज्य तथा एक केन्द्रशासित प्रदेशमा भएका थिए।

आसाम, बिहार, छत्तीसगढ, जम्मू कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पुदुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका सिटहरूमा मतदान भएका छन्।

उधमपुरमा नवविवाहित जोडीले पनि मतदान गरेका छन् ।

कूल ५४३ लोकसभा सिट मध्ये आजको मतदानले ९५ सिटको टुङ्गो लगाउनेछ।

भारतको चुनाव ७ चरणमा भइरहेको छ। मे १९ मा अन्तिम चरणको मतदान सकिएपछि मे २३ मा मतगणना हुनेछ।

यो चुनावलाई प्रधानमन्त्री मोदीप्रति जनमत सङ्ग्रहको रूपमा पनि हेरिएको छ।

Post Comment