आइसीसी टी-२० विश्वकपको एसिया छनौट पार गर्न संघर्ष गरिरहेको नेपालले अब कुवेत र सिंगापुर विरुद्ध जित हात पार्दै छनोट पार गर्ने स्पष्ट मार्गचित्र पाएको छ।
कप्तान पारस खड्का ढाडको समस्याबाट गुज्रिरहेका छन्। उनले कुवेत विरुद्धको शनिवारको खेल खेल्न पनि सक्छन् वा नखेल्न पनि। तर त्यसलाई चिन्ताको विषय मानिएको छैन।
चिन्ताको विषय चाहिँ सिंगापुरको वर्षे मौसम हो।
कतारसँग पहिलो खेल हारेपछि अप्रत्यासित अप्ठेराहरुको सामना गर्दै आएको नेपाली क्रिकेट टोली सिंगापुरमा सञ्चालन भइरहेको आइसीसी विश्वकप टी-२० एसिया छनोटमा अब दुई खेल जित्नै पर्ने बाध्यतामा छ।
ती खेलहरु शनिवार कुवेतसँग र आइतवार अन्तिम खेल आयोजक सिंगापुरसँग छ। र, शनिवार र आइतवारको मौसम पुर्वानुमानले वर्षा हुनसक्ने सङ्केत देखाएको छ।
नेपालका पूर्व कप्तान विनोद दास भन्छन्, “नेपालको लागि बाधक केही हुन्छ भने त्यो वर्षामात्र हुन सक्नेछ। बाँकी खेल जित्ने जिम्मा खेलाडीहरूको हातमा छ ।”
मलेसिया विरुद्धको खेल अघि पनि लगातार २ घण्टा वर्षा भइदिँदा झन्डै खेल रद्द भएको थियो। धन्न पछि वर्षा रोकिँदा ९ ओभरको खेल सम्भव भएको थियो र नेपाल झन्डै प्रतियोगिताबाट बाहिरिनबाट जोगिएको थियो।
मलेसियालाई हराएपछि रनरेटमा पछि पर्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको नेपालले दुई दिन आराम पाउँदा अन्य खेलमा पनि आरामदायी नतिजा हेर्न पायो।
सिंगापुरको इन्डियन एसोसियसनको सानो मैदानमा नेपालले सचेत रहनुपर्ने विषय मध्यक्रमको ब्याटिङ र कमजोर जस्तो देखिएको फिल्डिङलाई मानिएको छ।
प्रशिक्षक दास भन्छन्, “पारस, ज्ञानेन्द्र मल्ल र शरद भेषावकर जस्ता सिनियर खेलाडीहरू दबाबमा हुन सक्छन्। तर १९ वर्षका युवाहरू रोहित पौडेल र पवन सर्राफ पनि छन्। उनीहरू बेञ्चमा हुनुको अर्थ अन्य खेलाडी झन राम्रो हुनु हो। त्यसैले मध्यक्रम चिन्ताकै विषय होला जस्तो मलाई लाग्दैन।”
प्रशिक्षक राजु बस्नेत टोलीलाई टस जिते फिल्डिङ गर्दै रन पछ्याउन सुझाव दिन्छन्। उनी भन्छन्, ” सिंगापुरको त्यो मैदान सानो छ। नेपाली खेलाडीहरूले हिसाब गरेर रन जोड्न सक्छन्।”
कतार विरुद्धको हारले नेपाली खेलाडीहरूलाई हरेक खेलमा गम्भीर हुन सिकाएको धेरैको अनुमान छ। त्यसैले प्रशिक्षकहरु भन्छन्, “ठुलै उथल पुथल नभए नतिजा नेपालकै पक्षमा हुनेछ।”