राँझा, ५ जेठ । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक जना गरी २५ जनामा सङ्क्रमण देखिएको थियो । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा आज सङ्क्रमित देखिएका अधिकांश नागरिक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । आइतबार मात्रै नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै निधन भएको थियो ।
श्रेष्ठका अनुसार आज सङ्क्रमण फेला परेका सबै यसअघि भेटिएका आठ सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । आठ सङ्क्रमितको सम्पर्कमा आएका आधारमा दुई दिनअघि शनिबार नरैनापुरका विभिन्न वडामा रहेका क्वारेन्टिनबाट सङ्कलन गरिएको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण गर्दा ४७ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।
नरैनापुर २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दीपेन्द्र प्रावि, भोजभगवानपुरबाट ३९, वडा नं ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जना गरी २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । आइतबार थप ११ जनाको स्वाब सङ्कलन गरिएको श्रेष्ठले बताउनुभयो ।
नरैनापुरबाट सङ्कलित २७४ मध्ये अझै केही स्वाबको परीक्षण बाँकी रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताउनुभयो । “पूरै स्वाबको रिपोर्ट आइसकेको होईन, म बाहिर फिल्डमै भएकोले एक्जाक्ट मलाई पनि थाहा भएन”, उहाँले भन्नुभयो, “सङ्क्रमितलाई व्यवस्थापनको लागि छलफल भइरहेको छ ।”
एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि नरैनापुरमै आइसोलेशन वार्ड तयार गर्ने कि अन्यत्र व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको उहाँको भनाइ छ । यसअघि सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको छ भने आठ जनालाई दाङ पठाइएको छ ।
२३ सङ्क्रमितको पुनः स्वाब सङ्कलन
नेपालगञ्जमा फेला परेका २३ सङ्क्रमितको आज पुनः स्वाब सङ्कलन गरिएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तयार गरिएको कोरोना विशेष अस्पतालमा उपचाररत २५ मध्ये समयावधि पुगेका २३ सङ्क्रमितको कोरोना परीक्षणका लागि पुनः स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्जका पहिलो सङ्क्रमितसहित २३ जनाको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो पटक सङ्क्रमण भेटिएका दुई पुरुषको समयावधि पुगेपछि पुन परीक्षण गरिने बताउनुभयो । पहिलो सङ्क्रमितको आजसहित तेस्रो पटक स्वाब सङ्कलन गरिएको हो । साठी वर्षीय पहिलो सङ्क्रमितको यसअघि गत हप्ता गरिएको पुनः परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको थियो ।
आज एकै दिन ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ३५७
काठमाडौँ, ५ जेठ । कोभिड–१९ को सङ्क्रमण आज एकैपटक ५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा रहेको प्रयोगशालामा ४७, धुलिखेल अस्पतालको प्रयोगशालामा चार, विराटनगरस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भैरहवास्थित प्रयोगशालामा एक÷एक गरी कूल ५३ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाँकेका ४६ पुरुष र एक जना महिला, मोरङमा एक पुरुष, गुल्मीका एक पुरुष तथा धुलिखेलमा गरिएको परीक्षणमा धुनषाका एक, रौतहटका एक, दाङका एक र धादिङका एक जना रहेका छन् । सबै सङ्क्रमित १८ देखि ४६ वर्षका रहेका छन् । सङ्क्रमितको स्थायी र हालको ठेगानाका आधारमा कन्ट्रयाक टे«सिङ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ ।
आजै यसअघि रौतहटमा आठ जना र बारामा एक जनामा सङ्क्रमण देखिएको थियो । योसँगै आज एकै दिन ६२ जनाको संक्रमण भएको छ । नेपालमा अहिले सम्म सङ्क्रमितको सङ्ख्या ३५७ जना पुगेको छ । यस मध्ये पुरुष २९८ र महिला ५९ जना रहेका छन् । अहिलेसम्म ३१ जिल्लामा सङ्क्रमण देखिएको छ ।
प्रदेश नंं १ मा ४० जना, प्रदेश नंं २ मा १३२ जनामा, वाग्मती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा तीन जना, प्रदेश नंं ५ मा १५९ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमित रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार पिसिआर ३० हजार ७२३ जना, आरडिटीबाट ६९ हजार ५६० जनामा परीक्षण गरिएको छ ।
उहाँका अनुसार पिसिआरबाट फागुनमा ४५६ जना, चैतमा पाँच हजार १८४ जना, वैशाखमा २१ हजार ३४० जना तथा आरडिटी चैतमा तीन हजार ३२१, जनामा वैशाखमा ६० हजार ३१९ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा दुई हजार ५५८ जनाको पिसिआर र एक हजार ७५१ जनाको क्यारेन्टिनमा २० हजार ९० जना र आइसोलेशनमा ४१२ जना रहेका छन् ।
यसैगरी कोभिड–१९ को कारणले मृत्यु भएका सिन्धुपाञ्चोककी महिलाको नजिक रहेकोका १७० जनाको नमूना सङ्कलन गरेर कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको छ । डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन र सेन्टर डिपार्टमेन्ट अफ पब्लिक हेल्थ टिचिङ अस्पतालले उनीहरुको कन्ट्याक्ट टे«सिङ गरिरहेको छ ।
कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले उच्च शिक्षा सम्म पढाउने, तत्काल पौष्टिक आहारको लागि ५० हजार
काठमाडौं, ५ जेठ । गत बिहिबार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय महिलाको शिशुलाई सहयोग मिल्ने भएको छ । आमा गुमाएका शिशुको १ देखि १२ कक्षासम्म अध्ययनकालागि पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जिम्मा लिने घोषणा गरेका छन ।
बस्नेतले तत्कालै शिशुको पौष्टिक आहारका लागि ५० हजार आर्थिक सहयोग पनि गर्ने भएका छन । आमा कोरोनाबाट मृत्यु भएको र पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले बच्चाको आवश्यक हेरचार र खानपानकालागि केही रकम सहयोग गरेको पूर्वमन्त्री बस्नेतले बताएका छन् ।
१२ कक्षा पछि पनि थप उच्च शिक्षा अध्ययनका लागि र रोजगारीको व्यवस्थाको पहल समेत गर्ने बस्नेतले बताए ।
कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको नवजात शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ
काठमाडौं,५ जेठ। कारोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया युवतीको शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृ’तक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहि श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएको थियो ।
फेरी थपीए ९ जना कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या पुग्यो ३०४
काठमाडौँ, ५ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट थप ९ जना संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रोग्शाला, काठमाडौँमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानेको छ ।
संक्रमितहरुमा रौतहट, इश्नाथ नगरपालीकाका २,३,६, र ९ निवासी २१, २१, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु र रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीय महिला रहेका छन् । त्यस्तै बारा कलैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसबाट सक्रमितको संख्या ३०४ जना पुगेको छ । जस मध्य २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन ।