२३ ,कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकबाट एफके फेलोसिपका लागि पठाईएका युवा र कास्कीका विभिन्न संघ संस्थामा आवद्ध क्रियाशिल युवाहरुबीच अनुभव आदान प्रदान वैठक सम्पन्न भएको छ ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रिय कार्यलयको आयोजनामा भएको वैठकमा एफके एक्सचेञ्ज कार्यक्रममा सहभागि संगिता भाटले करिब १० महिना सम्म सञ्चालित फेलोसिप कार्यक्रममा नेपाल र भारतका बिभिन्न स्थानहरुमा बस्दा देखिएका र भोगेका मानव अधिकारसंग सम्बन्धित विषयबस्तुका अनुभवहरु साटेकी थिईन् ।
इन्सेक र मानव अधिकारका क्षेत्रमा भारतको वनारसमा क्रियाशिल संस्था मानव अधिकार जननिगरानी संस्थाबीच एफके का प्रतिनिधि सहभागि भएका थिए । जसअन्र्तगत नेपालबाट स्याङ्जाकी संगिता भाट र मकवानपुरका निर्मल पौडलले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता भाटले मानव अधिकार र युवा अधिकारका सवालमा तुलनात्मक रुपमा भारतमा कमजोर रहेको बताईन् । नेपाली युवाहरु राजनितीक बिभाजनका कारण अझै अगाडि बढ्न नसकेको अबस्था रहेको बताउँदै उनले भनिन् आफुले दश महिनाको अवधिमा भाषा र संस्कृतिका साथै शिक्षा र मानव अधिकारमा समेत थुप्रै भिन्नता भेटेको बताईन् ।
उनले भारतको बनारसमा रहँदा आफुहरुले अशिक्षा, बाल बिबाह लगायत बिभिन्न समस्याहरुलाई नियाल्दै त्यसको परिर्वतनका लागि गरिएका पहल प्राप्त उपलब्धीहरु प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमा इन्सेक केन्द्रिय कार्यलयका प्रशासन विभाग प्रमुख प्रेम पराजुलीले इन्सेक स्थापनाकालदेखि मानव अधिकारका क्षेत्रमा क्रियाशिल भएको बताउँदै विगतका तुलनामा हाल मानव अधिकारको अवस्था फराकिलो बन्दै गएको बताए । देश परिवर्तनमा युवाहरुको महत्वपूर्ण भुमिका रहने बताउँदै पराजुलीले आगामी दिनमा इन्सेकले युवा लक्षित कार्यक्रममा जोड दिने बताए ।
सोही कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले ईन्सेकले आगामि दिनमा युवा लक्षित कार्यक्रम संचालन गर्ने बताएका थिए ।
कार्यक्रममा को-क्याप पश्चिमाञ्चल कार्यक्रम संयोजक सरिता पुरी, डब्लु.ए.ओ का अध्यक्ष सुर्य तिमिलसिना र युवा संजाल कास्कीका लक्ष्मण आचार्यले श्रव्य दृश्य प्रस्तुतिबाट आफुहरुले मानव अधिकारको क्षेत्रमा ईन्सेकले गरेका सकरात्मक पहलका बारेमा जानकारी पाएको अनुभव राख्दै आगामि दिनमा युवाको सहकार्यमा मानव अधिकार र युवा अधिकारका सवालमा इन्सेकले आफुहरुसंगै सहकार्य गर्दै अगाडि बढ्ने आशा व्यक्त गरे ।