३९ लाख सरकारी पैसा जुवामा हारेर फरार भए गाबिस सचिब

समाज

मंसिर ९ । गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक,दुई लाख वा दश लाख ? होइन, एकैपटक ३९ लाख झ्वाम पार्नसक्छन्, त्यो पनि जुवाको खालमा ।डोटीका पोखरी र जिजोडामाडौं गाविसका सचिवईश्वरबहादुर सिंहले दुवै गाविसको सामाजिक सुरक्षा भत्ताले जुवा खेलेका छन् ।सिंहले प्रथम चौमासिकअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, दलित र बालबालिकाको भत्ता लिएका थिए । उनले दसैँअघि नै बैंक खाताबाट भत्ता लिएका थिए । त्यसपछि सम्पर्कमा नरहेको जिल्ला विकास समिति डोटीले जनाएको छ ।गाविससचिव सिंहले तिहारअघि सामाजिक सुरक्षावितरणका लागि डोटीको पोखरी गाविसको २४ लाख ९४ हजार चार सय र जिजौडामाडौंको १४ लाख ६ हजार गरी ३९ लाख रुपैयाँ बुझेका थिए । तिहारको लक्ष्मीपूजाका दिन जुवामाअधिकांश रकम हारेपछि उनी बेपत्ता भएको स्थानीय विकास अधिकारी कृष्ण गौतमले बताए । प्रत्येक महिनाको ४ गते जिविसमा गाविससचिवहरूको बैठक बस्ने गर्छ । उनी पछिल्ला दुवै बैठकमा अनुपस्थित भएको एलडिओ कृष्ण गौतमले बताए ।जिविसले गाविसको खातामा दसैँअघि नै हालिदिएको सामाजिक सुरक्षा भत्ता सचिव सिंहले बाँडेका थिएनन् । तर, स्थानीयले समयमा नै गुनासो नगरेकाले अनियमितताको छानबिन ढिलाइभएको गौतमले बताए । सिंह भने दसैँदेखि नै जिविसको सम्पर्कमा नरहेको गौतमको भनाइ छ । ‘प्रत्येक महिना हुने बैठकमा लगातार दुईपटक अनुपस्थित भएपछि खोजी ग¥यौँ,’ एलडिओ गौतमले भने, ‘उनी सुरुमा सम्पर्कमा थिए, पछि बेपत्ता भए ।’ तर पछिल्लो समय जिविसको सामाजिक सुरक्षा शाखा प्रमुख राम विष्टसँग सम्पर्कमा आएका सिंहले केही दिनमै रकम लिएर आउने बताएको गौतमको भनाइ छ ।सचिव ईश्वरबहादुर सिंह धनगढी जुगेडीका स्थानीय हुन् । सामाजिक सुरक्षाको भत्ता बैंकबाट झिकेर उनी दसैँअघि नै घर गएका थिए । उनका छिमेकीका अनुसार घरनजिकै उनले जुवा खेलेका थिए । भत्ताको अधिकांश रकमजुवामा हारेपछि उनी जिविसको सम्पर्कमा छैनन् ।स्थानीय विकास अधिकारी कृष्ण गौतमले सचिव ईश्वरबहादुर सिंह सम्पर्कमा नआएपछि खोजी गर्न जिल्ला प्रशासनमा पत्र पठाएको बताए । अब जिल्ला प्रशासनले नै कारबाही गर्ने उनको भनाइ छ। गौतमले सामाजिक सुरक्षा भत्ताबाहेक गाविसको बैंक खाताबाट कति रकम झिके भन्नबारे पनि छानबिन भइरहेको उनको भनाइ छ । ‘दसैँमै बाँडिनुपर्ने भत्ता बाँडिएन, कार्यालय पनि नआएपछि खोजी गर्दा पटक–पटक आउँदै छु भनेर ढाँटे, पछि सम्पर्कमै आएनन्,’ गौतमले भने, ‘राष्ट्रिय वाणिज्य बैंकसँग स्टेटमेन्ट मागेका छौँ, कति झिकियो भन्ने बैंक स्टेटमेन्ट आएपछि थाहा हुन्छ ।’गत साउनदेखि जिम्मेवारी सम्हालेका सिंहले दुवै गाविसको बैंक खाताबाट थप २९ लाखसमेत झिकेको स्रोतको दाबी छ । पोखरी गाविसको सडक निर्माण, मोटरसाइकल खरिद र ल्यापटप खरिदको रुपैयाँ झिकिएको हो । तर, सो रकम सदुपयोग गरे वा नगरेको विषयमा अध्ययन भइरहेको जिविस स्रोतको भनाइ छ ।
आजको नयाँ पत्रीकामा खबर छापिएको छ ।

Post Comment