प्युठान, १३ पुस । प्युठानको उत्तरी क्षेत्र गौँमुखी र रोल्पाबाट प्युठान हँुदै बगेको माण्डवी नदीमा पहिलोपटक सुरु गरिएको नमुना र्याफ्टिङमा सयर गर्नेको भीड लागेको छ ।
यी दुई नदी मिल्ने स्थान प्यूठानको ऐरावती र दाङ जिल्लाको भालुवाङभन्दा माथिको भागमा पहिलोपटक र्याफ्टिङको सुरुवात भएपछि यसमा सयर गर्नेको भीड लागेको हो । राप्ती उद्योग वाणिज्य सङ्घ भालुवाङले आयोजना गरेको कृषि, पर्यटन र औद्योगिक व्यापार महोत्सवको अवसर पारी यस खण्डमा पर्ने राप्ती नदीमा पहिलोपटक र्याफ्टिङ सञ्चालन गरिएको छ ।
पर्यटन विकासका लागि नदीमा र्याफ्टिङ सञ्चालन गर्न सकिने अध्ययनले देखाएपछि प्युठानको बाङ्गेसाल गाविसको तल्लो भागबाट भालुवाङसम्म ७ किलोमिटर दूरीमा र्याफ्टिङ सयर सुरु गरिएको हो ।चितवनको त्रिशूली नदीमा व्यावसायिक रूपमा र्याफ्टिङ सञ्चालन गर्दै आएको टोलीले यहाँ र्याफ्टिङ सञ्चालन गरेको सङ्घका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनुभयो । “सात किलोमिटरको सयर गरेवापत प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गरिएको छ ।”– उहाँले भन्नुभयो ।
सङ्घका अध्यक्ष डिसीले भन्नुभयो, “पर्यटन विकासका लागि सम्भावनाको खोजी गर्न महोत्सवको आयोजना गरेका हाँै र यहाँ र्याफ्टिङ नौलो हो ।”प्रत्येक डुङ्गामा गोताखोरको व्यवस्था गरी सबैलाई लाईफ ज्याकेटको व्यवस्था गरी सयर गर्ने व्यवस्था मिलाइएको छ । एघार दिनसम्म चल्ने यहाँको महोत्सव अवधिभर र्याफ्टिङ सञ्चालन गरिने सङ्घका महासचिव कृष्णराज सुवेदीले बताउनुभयो ।
“यहाँ र्याफ्टिङ नौलो भएकाले पनि सयर गर्नेको भीड छ ।” उहाँले भन्नुभयो, “र्याफ्टिङ सञ्चालन नियमित भएमा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुन्छ ।”यसैबीच महोत्सवको तेस्रो दिनसम्ममा रु १९ लाख ५० हजार भन्दा धेरैको आर्थिक कारोबार भएको छ । मेलामा आएका दर्शक तथा व्यापार वृद्धि हुँदै गएको मेला संयोजकसमेत रहनुभएका सङ्घका अध्यक्ष डिसीले बताउनुभयो ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला लगायतका १५० वटा कक्ष राखिएको छ । महोत्सवको आम्दानीबाट कला, संस्कृति, उद्योग, कृषिको प्रचारप्रसार, व्यवसाय तथा व्यापार प्रवद्र्धन, सङ्घको भवन निर्माण गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।राप्ती उद्योग वाणिज्य सङ्घ भालुवाङको आयोजनामा सुरु भएको महोत्सव सकिन अझै नौ दिन बाँकी छ । रासस