काठमाडौँ, १३ पुस । मुलुकभर रहेका चिनी मिलहरूले ४० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् ।
चिनी उत्पादक सङ्घले सुख्खायाममा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न आफूहरू विद्युत् उत्पादन गर्न तयार रहेको बताएका छन् ।उद्योग मन्त्रालयमा आज भएको ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र चिनी मिल सञ्चालकहरूको संयुक्त छलफलमा सङ्घले विद्युत् उत्पादनका लागि आफूहरू तयार रहेको बताएको हो ।सङ्घले चिनी मिलबाट उत्पादन हुने विद्युत् खरिदका लागि प्राधिकरणले तदारुकता देखाए आफूहरू तत्काल नै उत्पादन सुरु गर्न सक्षम रहेको जानकारी गराएको थियो ।
मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न र सुख्खायाममा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न चिनी उद्योगहरू विगतदेखि नै तत्पर रहेको भए पनि प्राधिकरणले चासो नदेखाएको सङ्घको आरोप छ ।उद्योग मन्त्री महेश बस्नेतले चिनी मिलबाट उत्पादन हुने विद्युत् खरिदका लागि सबै पक्ष तयार हुँदा पनि प्रक्रिया अगाडि बढ्न नसक्नु आफैँमा विडम्बना भएको बताउँदै तत्काल विद्युत् खरिद सम्झौता गर्नुपर्ने धारणा राख्नुभएको थियो । मिलबाट उत्पादित विद्युत् खरिदका लागि विद्यमान विद्युत ऐनमा रहेका केही प्रावधानलाई अध्यादेशमार्फत भएपनि संशोधन गर्न सकिने उहाँको भनाइ छ ।
मन्त्री बस्नेतले विद्युत् खरिदका लागि उद्योग मन्त्रालयले प्रभावकारी कदम चाल्ने विद्युत खरीदको प्रक्रिया छिट्टै सुरु हुने विश्वाससमेत चिनी उद्यमीलाई गराउनुभएको थियो ।
उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले चिनी मिलबाट उत्पादन हुने इथानोल डिजेलमा दुई प्रतिशतसम्म मिसाउन सकिने हुँदा यसबाट चिनी उत्पादक र किसान प्रत्यक्ष लाभान्वित हुने बताउनुहुन्छ ।उहाँले चिनी मिलबाट उत्पादन हुने विद्युत उपयोगका लागि उद्योग सचिव र ऊर्जा सचिवबीच छिट्टै छलफल गरी अन्तिम निष्कर्षमा पुगिने विश्वास दिलाउनुभयो ।
चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले ऊर्जा मन्त्रालयले विद्युत खरिद गर्ने प्रत्याभूति दिएमा सुख्खायाममा रु ८।५० प्रति युनिटको दरले वार्षिक ४० मेगावाट विद्युत उत्पादन गर्न सकिने बताउनुभयो ।उहाँले ऊर्जा मन्त्रालयको अन्तर्गतको विद्युत् विकास विभागले आवश्यक समन्वय नगर्दा विगत चार वर्षदेखि विद्युत् खरिद सम्झौता हुन नसकेको भन्दै तत्काल सकारात्मक पहल गर्न आग्रह गर्नुभयो । रासस