‘नेपाललाई झट्का, भारु १००० र ५०० का पुराना नोट साट्न आरबिआइद्धारा अस्वीकार’

अर्थ​

काठमाडौं, ३० कात्तिक । भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले नेपालमा रहेको ५ सय र १ हजारका भारतीय नोट सटही गर्न अस्वीकार गरेको समाचार आएको छ ।
मंगलबार विहान ‘नेपाललाई झट्का, भारु १००० र ५०० का पुराना नोट साट्न आरबिआइद्धारा अस्वीकार’ भन्ने शीर्षकमा भारतको प्रमुख च्यानल आजतकले यो समाचार प्रकाशित गरेको हो ।
आरबिआईले नेपालमा रहेका भारु नोट सटही सुविधा दिने अधिकार आफूसँग नभएको जवाफ दिएपछि नेपाली ब्यापारी र जनतासँग रहेको करोडौं भारु खेर जाने सम्भावना देखिएको छ ।
भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न भारतीय समकक्षी बैंक आरबिआईलाई अनुरोध गरेको थियो । तर, भारतीय रिजर्भ बैंकले सटही सुविधा दिने अधिकार आफूसँग नभएको भन्दै नोट साट्न अस्वीकार गरेको हो ।

समाचारमा नेपालमा १० करोड बराबरका ५०० र १ हजार दरका नोट रहेको उल्लेख छ । भारतीय रिजर्भ बैंकले नेपाललाई केवल ३ दशमलव ५ करोड भारु मात्र दिएको भएपनि १० करोड कहाँबाट आयो भनेर प्रश्न समेत गरेको छ ।
यसअघि सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर भारतीय मुद्रा सटहीमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । जवाफमा भारतीय प्रधानमन्त्रीले भारु सटहीबारे नेपालमा उत्पन्न समस्या तत्काल समाधान गर्ने आश्वासन दिएका थिए ।
आजतकको समाचारमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि सोमबारै भारतीय अर्थमन्त्री अरुण जेट्लीलाई फोन गरी नोट सटहीको ब्यवस्था गरिदिन आग्रह गरेको उल्लेख छ ।

Post Comment