संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा करहरू लागु गर्ने भएको छ।
बिहीवार मध्यरातबाटै स्टीलको आयातमा २५ प्रतिशत र एलुमिनियमको आयातमा १० प्रतिशत कर लगाइने छ।
वाणिज्यमन्त्री विल्बर रसले जानकारी दिएका उक्त कदमबाट युरोपमा रहेका कतिपय अमेरिकी साझेदारहरू प्रभावित हुनेछन्।
युरोपेली सङ्घ र मेक्सिकोले अमेरिकी कदमप्रति असन्तोष व्यक्त गर्दै त्यसका बदलामा आफूहरूले पनि कदम चाल्ने बताएका छन्।
अमेरिकी वाणिज्यमन्त्री रसले आफ्नो देशबाट अमेरिका निर्यात हुने स्टील र एलुमिनियमाथि कर लगाइने प्रावधानलाई रोक्ने प्रयास गरिरहेका ईयूका नेताहरूसँगको वार्तास्थल प्यारिसबाटै त्यस्तो निर्णयको घोषणा गरेका हुन्।
उनले आफूहरूको वार्तामा पर्याप्त प्रगति नभएको बताउँदै सम्भावित प्रतिक्रिया अपेक्षित रहेको बताएका छन्।
फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेएरले अमेरिकी करहरू “अनुचित र खतरनाक” हुने टिप्पणी गरेका छन्।
उनले चेतावनी दिँदै भने, “ईयूले अमेरिकाले लगाएको करको जवाफ दिन सबै आवश्यक उपाय अपनाउनेछ।”
राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण जनाउँदै गत मार्चमा विदेशबाट आयात गरिने स्टील र एलुमिनियममा कर लगाउने योजनाको घोषणा गरेका थिए।
चीनको अगुवाइमा विश्वव्यापी रूपमा नै स्टील र एलुमिनियमको आपूर्ति बढिरहेको तर्क गर्दै त्यसबाट अमेरिकाका लागि महत्त्वपूर्ण रहेका स्वदेशी स्टील र एलुमिनियम उत्पादकहरूलाई जोखिमपूर्ण अवस्थामा पुर्याएको उनको भनाइ थियो।
उक्त घोषणायता दक्षिण कोरिया, आर्जेन्टिना, अस्ट्रेलिया र ब्राजिलले कर मिनाहाका बदलामा आफूहरूले अमेरिका निर्यात गर्ने स्टील र एलुमिनियमको परिमाण सीमा तोक्न सहमति जनाइसकेका छन्।
वार्ता जारी रहँदा अमेरिकाले ईयू, क्यानडा र मेक्सिकोका हकमा अस्थायी रूपमा कर मिनाहा गरिदिएको थियो। त्यस्तो कर मिनाहाको समयसीमा जुन १ तारिखमा समाप्त हुनेछ।