अमेरिकामा बसेर आफुलाई अर्कै ब्रम्हाण्डको बिशेष मान्छे ठान्नेहरु घाम लागेपछि अल्पआयुका छिचिमीराहरु तापको मज्जा लिन जमिनमा निक्लिए जस्तै अहिले “लु है एनआरएन अमेरिकाको सदस्यता लिउँ है” यति दिन बाँकि छ यति घण्टा बाँकि छ भन्दै फेसबुकमा अरन्यरोदन गरिरहेको दुरुह दृश्यको भर्खर पटाक्षेप भएको छ|
प्रवासी नेपालीहरु दु:ख र सन्तापमा छट्पटाईरहेको बेला देखेको नदेखे झैं गर्नेहरु अहिले लामा लामा घोषणा-पत्र र स्वेत-पत्र फेसबुक मार्फत सार्वजनिक गरेर छिचिमिराको जस्तो कमजोर प्वाँख लिएर उचीउडानमा विचरण गरि रहेका छन |
आदरणीय प्रवासी नेपालीहरु, एनआरएन अमेरिकाका सदस्यहरु, यिनीहरुलाई जहाँ जुन अवस्थामा भेट्नु हुन्छ बरु एक पटक सोध्नुस “यतिका बर्ष आफ्ना र आफ्ना परिवार बाहेक यो प्रवासी नेपाली समाजलाई के दियौ र कहाँ अनि कसरी सहयोग गर्यौ?” यिनको आकाशे घोषणा-पत्र र उडन्ते एजेण्डाहरुमा नफस्नुस – हिजो दु:खको बेला साथ दिएका र दिनेहरुनै यो प्रवासी नेपाली समाजका तपाई हाम्रा नेता या अझ भनौं सेवकहरु हुन |
एनआरएन अमेरिका गणित र संख्यामा ठुलो भएको २०१५ मा देख्न पाइयो तर यो बलियो भईसकेको छैन | आफ्नो घर सम्हाल्न नसक्ने र नसकेकाहरु र आफ्नो घरमा आगो लगाउने दलगत राजनैतिक कु-नियत बोकेकाहरु अहिले एनआरएन अमेरिकामा आगो लगाउन निरन्तर लागि परेका छन |
यसपाली पनि “मोही माग्ने ढुङ्ग्रो लुकाउने” पुरातानिक प्रबृत्ति लिएर थुप्रै मिर्केट मेनर, हाईना र छिचिमिरा प्रबृत्तिहरु बजारमा आएका छन तर हामीलाई हिजो दु:ख र सन्तापमा साथ र सन्त्वना दिने सबल सेवक चाहिएको छ जो यो बृहद र व्यापक संगठन संचालनमा आवश्यक परे सिंह पनि बन्न सक्छन | तर अब कुनै पनि शर्त र बहानामा हामीहरुलाई हाईनाहरुको एकछत्र रजाई मान्य हुने छैन| हिजो हामीले सिंह भनेर छानेका र चुनेकाहरु केहि र कोहि कुनै पार्टीका बफादार सिपाहीहरु परेछन कालान्तरमा उनीहरुले त्यो रंग देखाए अब हामीलाई कुनै नेपालको पार्टीको झण्डा बोक्ने कार्यकर्ता या सिपाही चाहिंदैन |
अहिले आम प्रवासी नेपालीहरुलाई सेवक-नेता चाहिएको छ तर शासक या शोषक-नेता हैन | कोहि हुनुहुन्छ? आउनुस “क्लिन चिट” र “स्वेत-पत्र” जारी गरेर आम नेपाली प्रवासीको घर आँगनमा | लामो तीन पेजको रकमी घोषणा-पत्र, नेपालको राजनैतिक पार्टीको भात्री संगठनको अनुमोदन या सिफारिस र नौ बुंदे उडन्ते एजेण्डा होइन तपाईलाई हामी हजारौं प्रवासीको अगाडी राखेर तपाईको मुटुको धड्कन चेक गर्नेर्छौं, त्यो ताकत र साहस छ भने मात्र अगाडी आउनुस होइन भने छँदा-खाँदाको नोकरी अनि बन्द व्यापार छाडेर यता आँख नलाउनुस |
हाम्रो एनआरएन अमेरिका त्यति धमिलो भईसकेको छैन, सबै बन्द व्यापार पेशा छाडेर धमिलो पानीमा माछा मार्ने खेती नगर्नुस त्यस्तो खेतीले अन्तत: तपाईलाई नै खती हुनेछ |
अमेरिका बस्नुभा छ, पढे लेखेको बुज्रुक हुनुहुन्छ, कुरो बुझ्नु भो नि हैन?
सम्पादक: केहि बर्ष पहिले प्रकासित लेख अहिले पनि उतिकै सान्दर्भिक रहेकाले यँहा प्रस्तुत गरिएको हो।