ज्योतिष कृतिमदन जोशीले पूजालगायत अन्य सबै विधिको तयारी भइरहेको जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित रातो मच्छिन्द्रनाथको रथयात्रा साङ्केतिक रूपमा पूरा गर्ने सहमतिअनुसार तयारी भएको हो ।
हिजो गुठी संस्थान, स्थानीय प्रशासन र सरोकारवालाको छलफलले ठूलो भिडभाड नगरी जात्राको विधि पूरा गर्ने सहमति गरेको थियो । सहमति अनुसार क्षमापूजा गरी आंशिक रुपमा रथ तानेर जात्राको विधि सकाइने छ ।
जात्राअन्तर्गत भोलि साङ्केतिक रूपमा रथ तान्ने, दिनभरि पूजाआजा गर्ने र रथलाई खटमा राखेर आउँदो २२ गते बुङ्मतीमा पुर्याउने सहमति भएको ज्यापू समाजका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले जानकारी दिनुभयो ।
हिजो रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा झडप भएपछि अहिले रिङरोडभित्र ललितपुरमा कर्फ्यु छ । ललितपुरको पाटन क्षेत्र दिनभर अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु भरे राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।
ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । घिमिरेको अल्का अस्पताल पाटनमा उपचार भइरहेको छ । यस्तै, बिहान ४ बजेदेखि कर्फ्यु लागेपछि ललितपुर सुनसान छ । बिहानैदेखि ललितपुर प्रवेशमा कडाइ गरिएको छ । चोकचोकमा प्रहरी खटिएका छन् । अत्यावश्यक काममा हिँड्नेलाई पासका आधारमा मात्रै प्रवेश दिइएको छ । जिल्ला प्रशासन कार्यालयले विना पास हिँड्डुल नगर्न आग्रह गरेको छ ।