बनारस । भारतको उत्तर प्रदेशमा आजदेखि विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी तथा कांग्रेसको गठबन्धन र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
सात चरणमा हुने निर्वाचन अन्तर्गत पहिलो चरणमा आज उत्तर प्रदेशका ४ सय ३ विधानसभा सिट मध्ये ७३ सिटका लागि मतदान भइरहेको छ । यस्तै, मायावती नेतृत्वको बहुजन समाज पार्टी पनि कडा प्रतिस्पर्धामा छ ।
उत्तर प्रदेशको निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षणका रुपमा पनि हेरिएको छ । यो निर्वाचनलाई पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाउनेसहितका प्रधानमन्त्री मोदीको निर्णयको परीक्षणको रुपमा पनि हेरिएको छ ।
यस्तै उत्तर प्रदेश चुनवालाई हिंसा विरुद्धको अभियानका रुपमा पनि प्रतिस्पर्धी पार्टीले अभियान चलाएका छन् । सन् २०१३ मा ६५ जनाको ज्यान जाने गरी हिंसा भड्किएको मुजफ्फरनगरसहितका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी बिजेपीले उत्तर प्रदेशका ८० मध्ये ७३ सिट जितेको थियो । तर विधानसभा निर्वाचनमा बिजेपीको प्रदर्शन राम्रो नहुने विश्लेषण गरिएको छ ।