फिलिपिन्स आँधीः ‘१०० बढीको मृत्यु’

फिलिपिन्स आँधीः ‘१०० बढीको मृत्यु’
अन्तर्राष्ट्रिय समाचार

दक्षिणी फिलिपिन्समा आँधीका कारण १०० जना भन्दा बढीको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

आँधीपछि आएको बाढी र पहिरोमा दर्जनौं हराइरहेको बताइएको छ।

टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ।

टुबोड र पिआगापो शहर सबैभन्दा बढी प्रभावित भएका छन् जहाँ कैयौँ घरहरु ढुङ्गाले पुरिएका छन्।

पश्चिमतर्फ थप अगाडि बढ्नुअघि प्रतिघण्टा ८० किलोमिटर वेगको उक्त आँधी मिन्डनाओ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको छ।

फिलिपिन्स नियमितजसो विध्वंसात्मक आँधीको चपेटामा पर्दै आए पनि मिन्डनाओ खासै प्रभावित हुने गरेको थिएन।

टुबोडका एकजना प्रहरी अधिकारीले उक्त शहरमा कम्तीमा १९ जनाको मृत्यु भएको समाचार संस्था एएफपीलाई बताए।

उनले भने, “नदीमा पानी बढ्यो र अधिकांश घरहरु बगाएर लग्यो। त्यहाँ अहिले गाउँ नै छैन।” अर्का अधिकारीले एएफपीलाई नै बताए अनुसार टुबोडदेखि १० किलोमिटर पूर्वमा पर्ने पिआगापोमा कम्तीमा १० जनाको मृत्यु भएको छ।

बाँकी दुईवटा शहरमा थप मानिसहरुको मृत्यु भएको बताइएको छ।

एक हप्ताअघि काइ टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा दर्जनौं मानिसको ज्यान गएको थियो।

Post Comment