जर्मनमा गठबन्धन सरकार निर्माण सहमति

जर्मनमा गठबन्धन सरकार निर्माण सहमति
अन्तर्राष्ट्रिय समाचार

जर्मनीकी चान्सलर एंगेला मर्केलको कन्जरभेटिभ सीडीयू/सीएसयू र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी)बीच गठबन्धन सरकार निर्माण गर्न एक सहमति भएको छ।

महत्त्वपूर्ण मन्त्रालयहरूको बाँडफाँटसम्बन्धी सहमति गठबन्धन सरकार निर्माणको अन्तिम तर प्रमुख बाधाका रूपमा हेरिएको थियो।

गत सेप्टेम्बरमा भएको आमचुनावमा कन्जर्भेटिभ सीडीयू/सीएसयूले ऐतिहासिक पराजय बेहोरेपछि उत्पन्न राजनीतिक गतिरोध सो सहमतिले अन्त्य गर्ने ठानिएको छ।

मंगलबार बिहानदेखि नै मध्यस्थकर्ताहरूबीच निरन्तर छलफलहरू भइरहेका थिए।

आमचुनाव भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि जर्मनीमा नयाँ सरकार गठन हुन सकिराखेको छैन। यसलाई विश्व युद्धपछिको सबैभन्दा लामो सरकार निर्माणको प्रयास भनिएको छ।

सहमति भएसँगै इस्टर पर्वसम्ममा जर्मनीमा नयाँ गठबन्धन सरकार बन्न सक्ने संभावना देखिएको छ।

एसपीडी दलले अर्थ र विदेश मामिलासहित ६ वटा मन्त्रालयको जिम्मेवारी पाउने देखिएको छ। जर्मन संचारमाध्यका अनुसार एसपीडीका नेता तथा युरोपेली संसद्का पूर्वअध्यक्षसमेत रहेका मार्टिन शुल्ट्जले विदेश मन्त्रीको जिम्मेवारी पाउने अपेक्षा गरिरहेका छन्।

तर उनको दलका ४ लाख ६० हजार सदस्यहरूले उक्त पूर्ण सम्झौता पारित गर्नु पर्नेछ।

बर्लिनस्थित बीबीसी संवाददाता ड्यामीयन मक्गिनिस भन्छन्- उनीहरूले सम्झौताको विपक्षमा मत हाले त्यसको सम्भावित परिणाम भनेको ताजा चुनाव गर्नुपर्ने अवस्था आउन सक्छ। साथै अर्थ, विदेश तथा श्रम नीतिको जिम्मेवारी मध्यवामपन्थी एस्‌पीडीलाई दिइनुले विशेषगरी युरोप तथा बाँकी विश्वका लागि पनि ठूलो प्रभाव पार्न सक्ने ठानिएको छ।

शुल्ट्जले शुरुमा मर्केलको क्रिस्चियन डेमोक्र्याटिक युनियन- सीडीयू र उसको बेभरियन भगिनी दल सीएसयूसँग सत्ता सहयात्रा नगर्ने भन्दै विपक्षमा बस्ने बताएका थिए।

कहिले गठबन्धन बनाउँदै र कहिले तोड्दै आएका यी दलहरूले सन् २००५ यता लोकप्रियता गुमाउँदै आएका छन्।

सेप्टेम्बरको चुनावमा आएको परिणामपछि दक्षिणपन्थी दल अल्टर्नेटिभ फर जर्मनी (एएफडी) तेस्रो दल बनेपछि मर्केल् र शुल्ट्ज्‌ दुवै सो दलबाट आउन सक्ने चुनौतीका कारण दबावमा थिए।

तर उदारवादी फ्री डेमोक्रयाट्स (एफडीपी) र ग्रीन पार्टीहरूसँग भएका गठबन्धन सरकार निर्माणसम्बन्धी वार्ताहरू विफल भएपछि शुल्ट्जले आफ्नो विचार फेरेका थिए।

Post Comment