क्रिश्चियन धर्म प्रचार गर्नेहरु प्रती प्रहरी कडा, अष्ट्रेलियन महिलासहित पाँचजना पक्राउ

क्रिश्चियन धर्म प्रचार गर्नेहरु प्रती प्रहरी कडा, अष्ट्रेलियन महिलासहित पाँचजना पक्राउ
समाज

बर्दियामा क्रिश्चियन धर्म प्रचारको घरदैलोमा प्रहरी हस्तक्षेप भएको छ । बर्दियाको गुलरिया नगरपालिकास्थित बजार क्षेत्रमा घरदैलो गरेरै क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका एक अष्ट्रेलियन महिलासहित पाँचजनालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो ।

प्रहरीले ईसाई धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एकजना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए । त्यसक्रममा पासपोर्ट नम्बर एन ७००७३७११ भएको बताउने अष्ट्रेलियन महिला क्याटिया ग्रान, नेपालगञ्ज निवासी श्वेता मानन्धर, श्रीजन मानन्धर, दैलेखका तेजबहादुर शाही र मधुवन नगरपालिका–६ बर्दियाका दलबहादुर तिरुवा पक्राउ परेका हुन् ।

‘अनुसन्धानका क्रममा विदेशीसहित अन्य चारजनाले घरघरमा गई धर्म प्रचार र विभिन्न प्रलोभनमा धर्म परिवर्तन गरेको पाइएकाले मुलुकी अपराधसंहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाएका छौं’, मैनलीले भने । कानुन विपरित जबरजस्ती धर्म परिवर्तन गराउने कसैलाई पनि नछाडिने उनले बताए ।

हिन्दु धर्मलाई गाली गर्दै ईसाईको प्रचार गरिरहेका उनीहरूलार्इ थप अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडौँ पठाइएको एसपी मैनालीले बताएका छन ।

Post Comment