पाकिस्तानी राजदूतले भने: जम्मु–काश्मिरमा जनमतसङ्ग्रह हुनुपर्छ

पाकिस्तानी राजदूतले भने: जम्मु–काश्मिरमा जनमतसङ्ग्रह हुनुपर्छ
अन्तर्राष्ट्रिय समाचार

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन् ।

पाकिस्तानी राजदूतावासमा आज  ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताए ।

राजदूत मजहरले भने, ‘दुवै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेका छन् ।’ उनले जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्रसङ्घको प्रस्तावअनुसार जनमतसङ्ग्रहका माध्यमबाट हुनुपर्ने दोहोर्याए।

राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले समाधानका लागि सबैले मिलेर संयुक्त राष्ट्र सङ्घलाई घच्घच्याउनुपर्नेमा जोड दिए ।

पत्रकार राजनसिंह कार्कीले भारतलाई असल छिमेकीको भूमिका निर्वाह गर्न सुझाउँदै काश्मिर समस्याको समाधानको निर्णय गर्ने अधिकार काश्मिरी जनतालाई नै दिनुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा विश्वासमोहन आचार्यले विश्वशान्तिको कामना गर्दै कविता वाचन गरेका थिए ।

Post Comment