अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा गम्भीर विवादमा फसेकी छिन् । राजदूत शेर्पाविरुद्ध आफ्नै चालक ओन्छु शेर्पाले अष्ट्रेलियामा उजुरी दिएपछि विवाद भएको हो ।
मानव तस्करीमा संलग्न रहेको प्रमाणसहित आफ्नै चालक मिडियामार्फत बाहिर आएपछि राजदूत शेर्पा तनावमा परेकी हुन् । राजदूत शेर्पाले आफ्ना श्रीमान नमाङ सोनाम शेर्पाले काठमाडौंबाट साथ दिएको खुलासा भएको छ । नमाङ सोनाम शेर्पाले काठमाडौंमा विभिन्न डकुमेन्ट बनाउने गरेको चालक ओन्छु शेर्पाले बताएका छन् ।
राजदूत शेर्पाले आफू पदीय हैसियतमा रहेका कारण तत्कालका लागि जोगिए पनि उनी तनावमा रहेकी छिन् । राजदूत शेर्पालाई पदबाट बर्खास्थ गरेर कारबाही गर्न सामाजिक सञ्जालमा माग उठेको छ । सत्तारुढ दलका नेताहरूले पनि कारबाहीको माग गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता विष्णु रिजालले राजदूत लक्की शेर्पालाई तत्काल पदबाट बर्खास्थ गरी अनुसनधान गर्न माग गरेका छन् ।
‘लक्की शेर्पामाथि उनकै सहयोगीले मानव तस्करी जस्तो संगीन आरोप लगाएका छन् । कुटनीतिक क्षेत्रसँग पूर्णतः असम्बन्धित उनलाई त के मतलब तर यस घटनाले देशलाई कुटनीतिक बृत्तमा लज्जित बनाएको छ’, तत्कालीन नेकपा (एमाले)को प्रचार विभागको सचिव समेत रहेका रिजालले भनेका छन्, ‘उनलाई तुरून्त बर्खास्त गरी कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ । विगतमा विवादमा आउनासाथ विश्व प्रधान, माया शर्मा, हमिद अन्सारीलागायत बर्खास्त भएको इतिहास सरकारले सम्झोस् ।’
अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाले मानव तस्करी गरेको पैसाबाट काठमाडौंको सुन्दरीजलस्थित नयाँपाटीमा दुई रापनी जग्गा खरिद गरेकी छिन् । राजदूत शेर्पाले आफ्ना चालक ओन्छु शेर्पा र पति नमाङ सोनाम शेर्पालाई प्रयोग गरेर मानव तस्करी गर्ने गरेको खुलासा भएको छ ।
राजदूत शेर्पाले लाखौँ रकम उठाएको समेत चालक ओन्छु शेर्पाले बताएका छन् । राजदूत शेर्पा र चालक ओन्छु शेर्पाबीच लेनदेनमा कुरा नमिलेपछि विवाद बाहिर आएको हो । राजदूत शेर्पाले चालक ओन्छु शेर्पालाई चोरीको आरोप समेत लगाएर फसाउन खोजेको रहस्य बाहिरिएको छ ।