युरोपेली सङ्घ ईयुबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध अन्त्य गर्ने अपेक्षा गरिएका वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू सहमत हुन सकेनन्।
तल्लो सदन हाउस अफ कमन्समा सोमवार साँझ प्रस्तुत गरिएका चारवटा प्रस्तावमा कुनैले पनि बहुमत जुटाउन सफल नभएपछि यो प्रक्रिया झन् अनिश्चित बन्दै गएको छ।
संसद्मा ब्रेक्जिटको भावी दिशाबारे वैकल्पिक उपाय खोजिएको यो दोस्रोपटक हो।
वैकल्पिक प्रस्तावहरू
ईयुबाट ब्रिटेनको बहिर्गमनका लागि प्रस्तुत गरिएका चार प्रस्ताव यस्ता थिए:
- प्रस्ताव १: ईयुसँग भन्सार सङ्घमा रहने,
- प्रस्ताव २: ईयुसँग एकल बजार कायम गर्ने,
- प्रस्ताव ३: सम्झौतालाई अन्तिम निर्णयका लागि जनमत सङ्ग्रहमा लैजाने, र
- प्रस्ताव ४: विना सम्झौता ईयु छाड्नुपर्ने अवस्था आएमा ब्रेक्जिट रद्द गर्ने।
कानुनी रूपमा बाध्यकारी नहुने भए पनि यी प्रस्तावहरू सरकारका लागि अगाडिको बाटो तय गर्न सहयोग गर्ने ठानिएका थिए।
सबैभन्दा झिनो तीन मतले पारित हुन नसकेको प्रस्ताव भने ईयुसँग भन्सार सङ्घमै रहने भन्ने थियो। जसको अर्थ सीमा शुल्क र करका विषयमा अन्य ईयु राष्ट्रसरह एकै प्रणालीमा रहने भन्ने थियो।
उक्त प्रस्तावमा यसअघिको मतदानमा भन्दा बढी मत समेत आएको छ।
उत्तरी आयरल्याण्डको सीमाको विषयलाई हल गर्न यो विकल्प सहयोगी हुने धेरैले ठानेका छन्।
तर त्यसले ब्रिटेनलाई अन्य मुलुकसँग स्वतन्त्र रूपबाट व्यापार सम्झौताहरू गर्न भने रोक्नेछ।