अफगानिस्तानमा चुनावी र्‍यालीमा विस्फोट, २६ को मृत्यु

अफगानिस्तानमा चुनावी र्‍यालीमा विस्फोट, २६ को मृत्यु
अन्तर्राष्ट्रिय समाचार

उत्तरी अफगानिस्तानमा राष्ट्रपति असरफ गनीका निम्ति भएको एउटा चुनावी र्‍यालीमा भएको विस्फोटनमा परेर कम्तीमा २६ जना मानिसहरू मारिएको अधिकारीहरूले बताएका छन्।

घटना
पर्वान प्रान्तमा भएको उक्त विस्फोटनमा घाइते भएका दर्जनौँ मानिसहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

केही खबरहरूमा जनाइएअनुसार एउटा बम सुरक्षाकर्मीले प्रयोग गर्ने गाडीमा जोडिएको थियो र राष्ट्रपति गनीले सम्बोधन गरिरहेको मञ्च परिसरमा विस्फोट भएको थियो।

त्यसै समयमा राजधानी काबुलस्थित रक्षा मन्त्रालयको भवन नजिकै पनि अर्को विस्फोटन भएको अधिकारीहरूले पुष्टि गरेका छन्। सो घटनामा कम्तीमा ३ जना मारिएका छन्।

यसै महिनाको अन्त्यमा अफगानिस्तानमा राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ।

राष्ट्रपति गनी बम विस्फोटन भएका बेला पर्वान प्रान्तको प्रहरी तालिम केन्द्र नजिकै भएको चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका थिए। तालिबानका एकजना प्रवक्ताले भनेका छन्- उनीहरूले राष्ट्रपतिको सुरक्षा गरिरहेका सहितका सुरक्षाकर्मीहरूलाई लक्षित गरेका थिए।

दुवै विस्फोटनको जिम्मा तालिबानले लिएको छ।

तालिबान विद्रोही समूहले शान्ति वार्तामा सहभागी हुनुको साथसाथै हिंसात्मक कारबाही पनि बढाइरहेका छन्।

यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको वार्ता ‘मृत’ भएको जनाएका थिए।

तालिबानले सेप्टेम्बर २८ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनलाई विथोल्ने धम्की दिएको छ।

नुसन्धानमा गत अगस्ट महिनाभरमा अफगानिस्तानमा दैनिक औसत ७४ जना महिला, पुरुष तथा बालबालिका मारिएका छन्।

अफगानिस्तानमा बितेका १८ वर्षदेखि जारी युद्धपश्चात् अमेरिकी सेना फिर्ता हुने तयारी विथोलिएको छ। यिनै घटनाक्रमका माझ हिंसाको चक्र भने निरन्तर चलिरहेको छ।

अगस्ट महिनामा मात्र हिंसाका ६११ घटना भएका र त्यसका कारण २३०७ जना मारिएको बीबीसीले थाहा पाएको छ।

तालिबान तथा अफगान सरकारले बीबीसीले दिएको आँकडामाथि प्रश्न उठाएका छन्।

मारिनेमध्ये अधिकांश मानिस लडाकू रहेका छन्- अपेक्षा गरिएभन्दा धेरै सङ्ख्यामा तालिबान लडाकू मारिएको पाइएको छ। तर कुल मारिनेमध्ये पाँच भागको एक भाग गैरसैनिक छन्।

थप १९४८ घाइते भएका छन्।

Post Comment