राजपाका नेताहरुले भने :-हामीलाई मार्ने षडयन्त्र भएको छ

राजपाका नेताहरुले भने :-हामीलाई मार्ने षडयन्त्र भएको छ
जनसरोकार

राष्ट्रिय जनता पार्टीका अध्यक्षहरुले स्थानीय तहको निर्वाचनलाई नाटकको संज्ञा दिएका छन् ।

आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतोले सबै राजनीतिक पार्टीको सहभागिताबिनाको निर्वाचनको कुनै अर्थ नरहेको भन्दै निर्वाचनलाई नाटकको संज्ञा दिएका हुन् । ‘मधेसको समस्या समाधान गरेर मात्र निर्वाचन गराउने भन्ने सहमति भएको थियो तर त्यो सहमति पालना नगरी सरकारले एकतर्फी निर्वाचन घोषणा गरियो,’ ठाकुरले भने, ‘अब हाम्रोसामु आत्मसमर्पण वा संघर्ष जारी राख्ने विकल्प मात्रै छ, हामी स‌ंघर्षमै जान्छौं । यो कुरा सरकारलाई भनिसक्यौं ।’

अर्का अध्यक्ष राजेन्द्र महतोले आफूहरुको विरोध हुँदाहुँदै पनि सयौं कार्यकर्तालाई गिरफ्तार गरेर गराउन खोजिएको निर्वाचन लोकतान्त्रिक हुनै नसक्ने दाबी गरे ।

राजपा अध्यक्षहरुले आफूहरुलाई मार्ने उद्देश्यसहित नवलपरासीमा गोली र टियर ग्यास चलाइएको दाबी गरेका छन् । ‘षड्यन्त्रमूलक ढंगले विवाद बढाएर सभा विथोल्ने उद्देश्यले सरकारले यो घटना गराएको हो’ राजपा अध्यक्ष महतोले भने, ‘मञ्चतर्फ नै टियर ग्यास र गोली चलाइनु हामीलाई मार्ने षड्यन्त्र त होइन भन्ने आभाष भएको छ ।’

‘राजपाको विरोधसभा जारी रहँदा परासीमा गोली चल्यो, गोली चलाउनुपर्ने अवस्था नै थिएन । यस्तो घटना गराएर देशलाई कता धकेल्न खोजिएको हो’ उनले प्रश्न गरे । यो घटनाको जति खेद व्यक्त गरे पनि अपर्याप्त हुने महतोको भनाइ छ ।

शनिबार राजपा कार्यकर्ताले आफ्नो विरोधसभामा एमालेको झन्डालगायत प्रचार सामग्री जलाउन खोज्दा प्रहरीँसँग झडप भएको थियो । त्यसक्रममा अश्रु ग्यास र रबरको गोली चलेको थियो ।

पत्रकार सम्मेलनमा राजकिशोर यादव, अनिलकुमार झालगायत शीर्ष नेताहरु पनि सहभागी थिए ।

 

Post Comment