माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढ्ने बताउनु भएको छ ।
सिंहदरबारमा सोमबार बिहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा बोल्दै दाहालले विधेयक अगाडि बढ्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्देश्य हो ।’
‘अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक अब प्रक्रियामा अगाडि बढ्छ’, उहाँले भन्नुभयो, ‘संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई निर्वाचनमा ल्याउनुको बिकल्प छैन ।’
अध्यक्ष दाहालले माओवादी केन्द्रले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेन भने असन्तुष्टिभित्र खेल्ने तत्वले फाइदा उठाउन बताउनुभयो ।
उहाँले एमालेप्रति संकेत गर्दै सबै दलहरूलाई संविधानको मूल प्रवाहमा ल्याउन नचाहेको बताउनुभएको उच्च स्रोतले जनाएको छ । ‘एमाले संविधान संशोधनको विधेयक र विभिन्न मधेसी र जनजाति समूहको असन्तुष्टिभित्र खेलेको छ’, दाहाललाई उदृत गर्दै स्रोतले भन्यो, ‘एमाले यो मुलुकमा अहिले पनि निकास चाहँदैन । द्वन्द्व निम्ताएर कथित राष्ट्रवादका नाममा अशान्ति फैलाएर फाइदा लिन चाहन्छ ।’
अध्यक्ष दाहालले संविधानको कार्यान्वयन र निर्वाचनका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरूको पदपूर्तिका विषयमा पनि बैठकमा छलफल भएको सांसद एवम् बोड सदस्य रेखा शर्माले जानकारी दिनुभयो ।
श्रम समितिको सभापतिको उम्मेदवारी र समितिका सदस्यहरूको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेर्डक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।