जेठ, पोखरा । ¥याण्डम रिर्डस सोसाइटी अफ नेपाल र ह्वाट द बुक क्लबको सहकार्यमा शनिबार पोखरामा तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’ माथि छलफल तथा बहस कार्यक्रम सम्पन्न भयो ।
हरेक महिनाको अन्तिम शनिबार पाठक र लेखक बिच कृति माथि विमर्श गर्दै आएको सोसाइटीले यो महिना भने ह्वाट द बुक क्लबसँगको सहकार्यमा लेखक गुरुङलाई उहाको कृति पाठशाला उपन्यास माथि छलफलमा उभ्याएको हो ।
ह्वाट द बुक क्लबका सदस्य निशा शिल्पकारले उपन्यासले स्कुल भोगेको कुराले मान्छेको जिन्दगीलाई कसरी असर गर्दछ भनी देखाएको बताइन । उनले भनिन “उपन्यासमा उल्लेखित मानसिक रोग शिज्रोफ्रेनियाले पनि धेरै जानकारी दिन्छ” ।
कार्यक्रममा बोल्दै उपन्यासकार गुरुङले आख्यानमार्फत समाजिक बिषय उठान गर्न खोजेको बताए । उनले भने, ‘उपन्यासमा किशोर मनोविज्ञान र विद्यालयलाई पृष्ठभूमि बनाएर जातीय विभेद, वर्गीय विभेद, जनयुद्व जस्ता बिषय समेत उठाएको छु ।’ उपन्यास आफ्नो शैक्षिक अनुभवको उपज रहेको गुरुङले बताए ।
उपन्यासमा देखाउन खोजिएको म्याजिकल रियलिज्म, पात्रको नामाकरण र पात्रको भाषा नयाँ प्रयोग गरिएको ह्वाट द बुक क्लबका अध्यक्ष अभिनास श्रेष्ठले बताए ।
पाठशालालाई शिक्षाको मन्दिर बनाइनुपर्नेमा यातना र तनाव दिने कारखाना बनाइएको गुरुङले बताए । उनले भने, ‘म आफैले पढाएका सीमित विद्यार्थीमात्र ठूलो क्षेत्रमा गएर सफलता हासिल गरेका छन् । उनीहरुको संख्या भन्दा मैले पढाएका र अहिले ट्यापे, बेरोजगार विद्यार्थीको संख्या बढी छ ।’ उनले यस्तो हुनुमा नेपाली शिक्षा प्रणालीको दोष रहेको औंल्याए ।
किशोर किशोरीको बारेमा लेखिएको यति रोचक आख्यान आफुले धेरै पछि पढेको ह्वाट द बुक क्लब सदस्य अनिशा बराइलीले बताइन् । ‘मेरो बिचारमा मानसिक रोगीहरु अस्पतालमा भन्दा बढि घरघरमा छन्, हामीले रोगलाई लुकाएर राख्नु हुदैन,’ सहभागी नविन सुवेदीले सुनाए ।
त्यसैगरी क्लबका अर्का सदस्य अविनाश बरालले किशोरकिशोरीको बारेमा, किशोरकिशोरीकै भाषामा लेखिएको यो उपन्यासले नेपाली शैक्षिक संस्कृति र त्यसको नकारात्मक असरबारे प्रस्ट्याउन मद्दत गरेको बताए ।
उक्त छलफलमा ह्वाट द बुक क्लबको तर्फबाट अनिशा बराइली, अविनाश बराल, नवीन सुवेदी र निशा शिल्पाकार सहभागी थिए । डा कृष्ण मुरारी अधिकारी, गौरी तमु लागाएत थुप्रै सहभागीहरुले बहसमा भाग लिएका थिय भने कार्यक्रममा बाक्लो उपस्थिती रहेको थियो ।