नेपाललाई क्रिश्चियन राष्ट्र बनाएरै छाड्न सम्भव छ ?

नेपाललाई क्रिश्चियन राष्ट्र बनाएरै छाड्न सम्भव छ ?
जनसरोकार

विवादै विवादमा जेलिएको एसिया प्यासिफिक सम्मेलन झन् विवादित भएको छ । यूनिफिकेशन चर्चकी प्रमुख एवम् आफूलाई जिसस क्राइस्टकी एकमात्र छोरी दाबी गर्ने कोरियन धर्मगुरु हाक जा हान मुनले ‘नेपाललाई पनि क्रिस्टियन मुलुक बनाउन’ आह्वान गरेका कारण कारण सम्मेलन थप विवादित भएको हो । हान मुनले दिएको अभिव्यिक्तका कारण प्यासिफिक सम्मेलन झन् विवादित बनेको छ ।

विवादै विवादमा जेलिएको एसिया प्यासिफिक सम्मेलनमा शनिबार हाक जा हान मुनले दिएको अभिव्यक्ति झन् विवादित बन्यो । उनले भनिन्, ‘म जिसस क्राइस्टकी एकमात्र छोरी हुँ । सच्चा माता हुँ । अब नेपाल पनि ईश्वरीय राष्ट्र बनेको छ ।’ उनले कोरियन भाषामा गरेको सम्बोधनको सारांश नेपालीमा यस्तो छ-

‘मानवीय जगत धार्मिक, पारिवारिक समस्या र द्वन्द्वबाट ग्रस्त छ । शान्तिको कल्पना सम्भावना छैन । यो ब्रह्माण्डका २०० देशका मालिक भगवान् हुन् । उहाँबारे बुझ्नै पर्छ । उहाँ भगवान् जिसस क्राइस्टकी छोरी हुनुको नाताले सबैलाई आशीर्वाद दिनु मेरो कर्तव्य हो । इजरायलहुँदै ईश्वर एसिया प्रवेश गर्नुभयो । र सच्चा माताको जिम्मेवारी मलाई दिनुभयो ।

जिससको छोरी मेरो जन्म १९४३ मा भयो र पछि सम्पूर्ण जिम्मा दिनुभयो । जतिबेला कोरिया जापानबाट कोलोनी भएर छुट्टिइसकेको थियो । कोरिया दुई ध्रुवमा बिभाजित भयो । अहिले कोरिया सम्पन्न भएको छ । जुन ईश्वरको आशीर्वादबाटै सम्भाव भएको हो । अर्थात् जिससको छोरीमार्फत् सम्भव भएको हो । दुई हजार वर्षसम्म क्रिश्चियनले गल्ती गरेको परिणामस्वरुप हाम्रो उदय भएको हो । जुन अहिले विश्वभर फैलदोँ छ । जब यूरोपमा कम्युनिष्ट बढ्दै गए, सत्यता मर्दै गयो । त्यो देख्न नसकेर ईश्वरले मलाई छोरीका रुपमा पठाउनु भएको हो । अहिले मेरो आशीर्वाद प्रत्यक्ष ईश्वरको आशीर्वाद जत्तिकै शक्तिशाली हुनेछ । त्यसैले ममार्फत् आशीर्वाद लिएर यो सन्देश सबैतिर फैलाउनुहोस् । यहाँ ईश्वरीय राष्ट्रको स्थापना सम्भव छ ।’

यसरी खुलेयाम क्रिस्टियन धर्म प्रचार भएको सम्मेलनमा ७ देशका राष्ट्र प्रमुख एवम् कार्यकारी प्रमुखसँगै ४५ देशका प्रतिनिधि सहभागी थिए । सम्मेलनमा सहभागी सबैले प्रायःले हानमुनको प्रशंसा गरे । सम्मेलनमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनको प्रशंसा गरे । तर उनले धार्मिक मुद्दालाई विषयान्तर गर्दै कार्यक्रम नेपालमा भएकोमा खुसी व्यक्त गरे । एउटा धार्मिक संस्थाले गरेको कार्यक्रममा यति धेरै देशका नेता एवम् नेतृत्वकर्ता आउनु साँच्चै अनौठो सवाल हो । सुरुदेखि नै विवादित भएको यो सम्मेलन आइतबारसम्म आइपुग्दा विवादको उत्कर्षमा पुग्यो । कार्यक्रम विवादकै कारण कम्बोडियाका प्रधानमन्त्रीले आफ्नो निर्धारित कार्यक्रम छोट्याएर शनिबार राति नै स्वदेश फर्किए ।

आइतबार युनिफिकेशन चर्चकी प्रमुख हान मुनले आशीर्वाद दिने भन्ने कार्यक्रममा सहभागी नै नभई म्यानमारकी नेतृ आङ साङ सूची पनि पहिले नै स्वदेश फर्किइन् । त्यस्तै, सम्मेलनमा सहभागी हुन आएका अरु थुप्रै देशका प्रतिनिधि सम्मेलन सकिनुपूर्व नै फर्किए । आशीर्वाद कार्यक्रममा नेपालका प्रधानमन्त्री दम्पत्तिसँगै उच्चपदस्थ अधिकारीका दम्पत्ति, स्थानीय तहका प्रमुखका दम्पत्ति सहभागी हुने भनिएको थियो । तर, ज्यादा विवाद भएपछि प्रधानमन्त्रीसँगै धेरै युनिफिकेशन चर्चकी प्रमुख हान मुनसँग आशीर्वाद ग्रहण गर्न गएनन् । आयोजकले ‘आशीर्वाद प्रदान÷ग्रहण कार्यक्रम’ विवादित हुने भएपछि नाम फेरेर ‘पारिवारिक उत्सव’को नाम दिएको थियो ।

के हो आशीर्वाद प्रदान/ग्रहण अर्थात् ‘ब्लेसिङ’ कार्यक्रम ?

पहिलो श्रीमतीसँग डिभोर्स भएपछि सन् १९६० मा आफूभन्दा २३ वर्ष कान्छी हाक जा हान मुनसँग दोस्रो बिहे गरेका यूनिफिकेसन चर्चका संस्थापक सन म्योङ मूनले आफ्नो जोडीलाई ‘ट्य्रु प्यारेन्ट्स’ अर्थात् सच्चा मातापिता भन्न लगाए र अन्य जोडीलाई ‘ब्लेसिङ’ दिन सुरु गरे । कोरियामा पहिलोपटक ब्लेसिङ समारोह हुँदा ३६ जोडी सहभागी थिए, जसमध्ये १२ जोडी पूर्वविवाहित थिए । ‘ब्लेसिङ’को सबैभन्दा ठूलो समारोह सन् १९९७ मा न्यूयोर्कमा भएको थियो, जहाँ ३० हजार जोडीले सहभागिता जनाएका थिए । सुरु–सुरुमा चर्चका सदस्यलाई मात्रै दिइने ‘ब्लेसिङ’ अहिले अरुलाई पनि दिन थालिएको छ ।

‘ब्लेसिङ’को प्रक्रिया : 
– पापको अन्त्य र नयाँ सुरुवात गर्ने भन्दै जोडी आपसमा तीनपटक टाउको ठोकाउँछन्, जसलाई ‘चास्टेनिङ सेरेमोनी’ भनिन्छ ।

– मुनको पापरहित बंशमा समाहित हुने भन्दै जोडीले ‘होली वाइन’ पिउँछन, जसलाई ‘होली वाइन सेरिमोनी’ भनिन्छ ।

– क्रिस्चियन शैलीअनुसार जोडीले कसम खान्छन् । सञ्चालकले एउटा प्रार्थना गर्छ र जोडीलाई ‘होली वाटर’ सेचन गरिन्छ । यसलाई ‘होली ब्लेसिङ सेरेमोनी’ भनिन्छ ।

– यसरी ‘ब्लेसिङ’ लिने जोडी ४० दिनसम्म शारीरिक सम्वन्धबाट टाढा रहन्छन् । यसलाई ‘सेपेरेसन पिरियड’ भनिन्छ ।

– सेपेरेसन पिरियड सकिएपछि लगातार तीन दिनसम्म फादर मुनको तस्वीर अगाडि जोडीले यौनसम्पर्क गर्छन । जसलाई ‘थ्री डे सेरिमोनी’ भनिन्छ ।

तर, थप विवादित हुने निश्चित भएपछि नेपालमा आइतबार गरिएको ‘ब्लेसिङ’मा सबै प्रक्रिया पूरा गरिएन । विवादित धार्मिक आइएनजिओः युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई नेपाल सरकारले अनावश्यक साथ, सहयोग र समर्थन गरेकोप्रति चौतर्फी विरोध भइरहेको छ । विवादित संस्था युनिभर्सल पिस फेडेरेसनको स्थापना सन् २००५ मा भएको हो । संस्थाका सस्थापक म्युङ म्युन पटक–पटक विवादमा परेका व्यक्ति हुन् । आफूलाई जिसस क्राइस्टको उत्तराधिकारी दाबी गर्ने मुनकाे सन् २०१२ मा मृत्यु भयो ।

त्यसपछि हक जा हान संस्थाको प्रमुख धार्मिक गुरु भएकी छन् । उनले पनि आफूलाई क्राइस्टको अवतार घोषणा गरेकी छन् । उनी सामुहिक बिबाह गराउने र बिहे गरिसकेको जोडीलाई आशीर्वाद दिएर पापमुक्त गराउने भन्दै हिँड्ने गर्छिन् । उनी अहिले युनिफिकेसन चर्चकी प्रमुख हुन् ।

Post Comment