काठमाडौँ, १९ चैत । प्रथम महिला दक्षिण एसियाली बास्केटबल (साबा) प्रतियोगितामा नेपालले स्वर्ण पदकका लागि श्रीलङ्काको सामना गर्ने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपाली महिला टोलीले विजय लक्ष्यका साथ भोलि स्वर्ण पदकका लागि श्रीलङ्काको सामना गर्ने भएको हो ।
घरेलु मैदानमा पहिलो पटक सञ्चालन भएको उक्त प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपालले तिनै खेलमा जित हासिल गरेको छ । नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ९२–२६ पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ७७–३७ ले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपालले भुटानमाथि ९०–३२ स्कोरको सहज जित निकाल्यो ।
अन्तर्राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिपमा भने नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा भएको १७औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले भाग लिएको थियो ।
यही चैत २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स र भुटान गरी पाँच राष्ट्रले भाग लिएका छन् ।