एपिएफलाई हराउँदै आयोजक मदन भण्डारी गोल्डकपको फाइनलमा

खेल

उर्लाबारी (मोरङ), ३१ वैशाख । सडन डेथमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल मोरङको उर्लाबारीमा जारी पाँचौँ मदन भण्डारी स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

उर्लाबारी–६ स्थित सालबारी रङ्गशालामा आज भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा एपिएफलाई सडन डेथमा ८–७ गोलले पराजित गर्दै आयोजकको टिम लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ तथा टाइब्रेकर ५–५ गोलको बराबरीमा टुङ्गिएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट लिनुपरेको हो । एपिएफका रुपक लामाले प्रहार गरेको पेनाल्टी सुटआउट बाहिरिएपछि आयोजकको जित सुनिश्चित भएको हो ।

यसअघि पहिलो हाफको २९आँै मिनेटमा एपिएफका लागि हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५आँै मिनेटमा आयोजकका कर्ण लिम्बूले बराबरी गोल फर्काएका थिए । आजको खेलमा आयोजकका रजिन धिमाल म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा भोलिको अन्तिम सेमिफाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र फ्यान्स क्लब बीआरसी भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख तथा उपविजताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।