इसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ ।
नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र समान हारको नतिजा निस्कियो । गत साउन २९ गते भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई सात विकेटको नतिजा सुम्पियो भने दोस्रो खेलमा सानदार प्रदर्शन गर्दै १९ रनले पराजित ग-यो ।
जारी लिग च्याम्पियनसिप प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससहित हङ्कङ, पपुवान्युगिनी, स्कटल्यान्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) गरी आठ राष्ट्र सहभागी छन् ।
आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । विश्वकप खेल्ने महत्वपूर्ण खुट्किलोका रुपमा रहेको प्रतियोगितामा नेपाल छ अङ्कका साथ छैटौँ स्थानमा छ । तर नेपालले अब हङ्कङ, केन्या र युएईसँग खेल्न बाँकी छ ।