असोज ७ । भारतको गुवाहटीमा जारी ६४ औँ संस्करणको बोर्डोलोई ट्रफीको दोस्रो खेलमा आज थ्री स्टार क्लबले ओयल इन्डिया फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै छ । खेल गुवाहाटीको नेहरु स्टेडियममा बेलुका ७ बजे सुरु हुनेछ । पहिलो खेलमा नागाल्याण्डको बारक फुटबल क्लबविरुद्ध ६–१ प्रभावशाली जित निकालेको थ्रीस्टारले आज लिग चरणको दोस्रो खेलमा ओयल इन्डियसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यस्तै ओयल इन्डियाले लिग चरणको पहिलो खेलमा सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । पहिलो खेलमा पाएको प्रभावशाली जितपछि थ्रीस्टारले आजको ओयल सँगको खेलमा पनि जीत निकाली सेमिफाइनल प्रवेशको योजना बनाएको छ । ओयल इन्डियाविरुद्ध जित हात पार्न सके नेपालको लिग विजेता टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्नेछ ।
समुह ए अन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा बारक फुटबल क्लबलाई ५–० ले पराजित गर्दै सिलोङ लाजोङ चार अंकसहित समूह एको शिर्ष स्थानमा छ । समान एक खेल खेलेका थ्रीस्टार तीन अंकसहित दोस्रो र ओयल इन्डिया १ अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित बारक एफसी अंकविहिन हुँदै पुछारमा छ ।