मड्रिड डर्बीमा रियल विजयी, यूनाईटेड बराबरीमा रोकीयो।

खेल

मंसिर ६। क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मद्धतले स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ। क्रिष्टियानो रोनाल्डोको करियरको ३९औं हृयाट्रिक गर्ने क्रममा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–० ले हराएको हो ।

२३औं मिनेटमा गोल गर्दै पहिलो हाफमा रियल मड्रिडले १–० को अग्रता दिलाएका रोनाल्डोले ७१औं मिनेटमा पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गरे। यस्तै खेलको ७७औं मिनेटमा गोल गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ३९औं हृयाट्रिक पुरा गरे। जितसँगै १२ खेलबाट ३० अंक भएको रियल मड्रिडले शीर्ष स्थान सहित अंक दूरी पनि लम्ब्याएको छ। २६अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ। रियल मड्रिडसँग पराजित भएको एथ्लेटिको मड्रिड १२ खेलबाट २१ अंकसहित पाँचौँ स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत शनिवार नै भएको खेलहरुमा म्यान्चेष्टर यूनाईटेड र आर्सनल बिचको खेल १–१ को बराबरीमा सकिएको छ। ६८औं मिनेटमा जुआन माटाको गोलबाट अग्रता लिएको यूनाईटेडले १–० को अग्रता जोगाउन नसक्दा अन्तिम एक मिनेट बाँकी रहदा वलिभर गिराउडले बराबरी गोल गरे। १२ खेलबाट २५ अंक सहित आर्सनल चौथो स्थानमा छ भने म्यान्चेष्टर यूनाईटेड बराबर खेल खेल्दै छैटौ स्थानमा रहेको छ। यस्तै लिभरपुल र साउथहाम्टन बिचको खेल पनि ०–० को बराबरीमा सकिएको छ। अन्य खेलहरुमा लिस्टर सिटी, म्यान्चेष्टर सिटी,टोटन्ह्याम बिजयी भएका छन्।

Post Comment