२ माघ। ईंग्लिस प्रिमियर लिग अन्तरर्गत शनिवार भएको खेलमा चेल्सीले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई पराजित गरेको छ। डिएगो कोष्टा बिनानै मैदानमा उत्रिएको चेल्सीले लिसेस्टरलाई उसकै घरेलु मैदानमा ३–० ले हराउदै शिर्ष स्थानमा स्पष्ट सात अंकको अग्रता कायम राखेको छ।
चेल्सीलाई जित दिलाउने क्रममा मार्कोस एलोन्सोले २ तथा पेड्रोले एक गोल गरे। छैटौ मिनेटमानै एलोन्सोले गोल गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अघि रहेको चेल्सीका लागि ५१औं मिनेटमा एलोन्सोले व्यक्तिगत दोस्रोगोल गरे। ७१औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए।
खेलमा लिसेस्टर सिटीले केहि मौका पाए पनि गोलमा परिणत गर्न सकेन। जित पश्चात चेल्सीको २१ खेलबाट ५२ अंक भएको छ भने दास्रो स्थानको टोटनह्यामको समान खेलबाट ४५ अंक रहेको छ।
यस्तै हिजो रातिनै भएको खेलमा आर्सनलले स्वान्सी सिटीलाई ४–० ले हराएको छ । आर्सनललाई जित दिलाउने क्रममा ओलिभर गिराउड र एलेक्स साञ्चेसले एक एक गोल गरे भने दुईगोल उपहार पाए। जित पछि तेस्रो स्थानमा उक्लिएको आर्सनलको २१ खेलबाट ४४ अंक रहेको छ।