काठमाण्डौ । सरकारले राष्ट्रिय युवा परिषद् विघटन गर्ने तयारी गरेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको परिषद्लाई युवा तथा खेलकुम मन्त्रालयले विघटन गर्ने तयारी गरेको हो ।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा खेलकुद मन्त्री दलजित श्रीपाइलीले राष्ट्रिय युवा परिषदको विवाद सतहमा आइसकेको उल्लेख गर्दै यसको समाधानको लागि जस्तोसुकै कदम चाल्न आफू पछि नहट्ने बताए ।
उनले भने- ‘परिषदमा अहिले समस्या देखा परेको छ, एमालेले एकलौटी रुपमा ६० जिल्लामा नियुक्ती दिएको कुरा बाहिर आएको छ, भागबण्डा राम्रो होइन, यसबारेमा मेरो ध्यानाकार्षण भैरहेको छ, नयाँ संविधान अनुसार पनि परिषद्लाई समावेशी–समानूपातिक बनाउनुपर्छ, यसमा १ करोड ७ लाख युवाहरुको भविष्य जोडिएको छ, सबैलाई मान्य हुनेगरि समस्याको समाधान गर्ने वा अपनत्व हुने खालको परिषद बनाउँछु ।’
परिषदको विवाद समाधानको लागि अब के गर्ने विघटन गर्ने वा बाँकीमा भागबण्डा मिलाउने ? वा के गर्ने भन्नेबारेमा भने उनले स्पष्ट जवाफ दिएनन् । तर, यो विवाद समाधानको लागि आफूलाई नै सम्पूर्ण अधिकार दिइएकोले आवश्यक परेको खण्डमा यसको लागि गम्भिर कदम उठाउन पनि आफू पछि नपर्ने उनले स्पष्ट पारे ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले माधव ढुंगेलको अध्यक्षतामा राष्ट्रिय युवा परिषद् गठन गरेका थिए । परिषद्को ६० जिल्लामा शाखा विस्तार भइसकेको छ । परिषद्ले १ करोड १० लाख युवाको प्रतिनिधित्व गर्छ ।
२०६५ सालदेखि एमाले भातृ संगठन युवा संघ नेपालको दबाबमा राष्ट्रिय युवा नीति बनाई कार्यान्वयनमा लैजानुपर्छ भन्ने विषयलाई २०७२ सालमा ओली नेतृत्वको सरकारले परिषद् गठन गर्दै साकार पारेको थियो ।